मिजोरम, त्रिपुरा र पश्चिम बंगालमा ईडीको छापा, १४२ करोड़ रुपियाँभन्दा बढीको लागुऔषध तस्करीसँग सम्बन्धित धनशोधन प्रकरण
Enforcement directorate


नयाँ दिल्ली, 08 जून (हि.स.)। प्रवर्तन निदेशालय (ईडी) ले लागुऔषध तस्करीसँग सम्बन्धित धनशोधन (मनी लन्डरिङ) प्रकरणमा सोमबार मिजोरम, त्रिपुरा र पश्चिम बंगालमा चार स्थानमा छापा मारेको छ। अनुसन्धानका क्रममा हालसम्म १४२ करोड़ रुपियाँभन्दा बढीको अपराधबाट आर्जित सम्पत्ति (प्रोसीड्स अफ क्राइम) पत्ता लागेको छ। यो प्रकरण म्यानमार र बंगलादेशसँग जोडिएको अन्तरराष्ट्रिय लागुऔषध तस्करी सञ्जालसँग सम्बन्धित रहेको बताइएको छ।

ईडीको आइजोल उप-क्षेत्रीय कार्यालयले धनशोधन निवारण ऐन (पीएमएलए), २००२ को धारा १७ अन्तर्गत यो कारबाही गरेको हो। अनुसन्धान नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) को अगरतला जोनल एकाइले दर्ता गरेको मुद्दाका आधारमा भइरहेको छ। उक्त मुद्दामा २१ अगस्त, २०२५ मा त्रिपुराबाट ४९.१०१ किलोग्राम मेथामफेटामाइन र ४० ग्राम हेरोइन बरामद गरिएको थियो।

ईडीका अनुसार, अनुसन्धानले म्यानमारबाट मिजोरमको चम्फाई-जोखावथार क्षेत्र हुँदै भारतमा मेथामफेटामाइन भित्र्याउने संगठित अन्तरराष्ट्रिय तस्करी गिरोहको पर्दाफास गरेको छ। त्यसपछि उक्त लागुऔषध त्रिपुरामा रहेका रिसिभरहरूसम्म पुर्याइने गरिएको थियो।

अनुसन्धानमा तस्करीबाट आर्जित रकम विभिन्न ब्याङ्क खाताहरू तथा शेल कम्पनीहरूमार्फत लुकाउने र स्थानान्तरण गर्ने काम भएको पनि खुलासा भएको छ। हालसम्म १४२ करोड़ रुपियाँभन्दा बढीको शंकास्पद रकमको पहिचान भइसकेको छ।

ईडीले जनाएअनुसार, त्रिपुरामा छापा मारिएका स्थानहरू बंगलादेश सीमाबाट करिब २०० मिटरको दूरीमा रहेका छन् भने मिजोरममा छापा मारिएको एक स्थान म्यानमार सीमाबाट करिब ५०० मिटर टाढा रहेको छ। एजेन्सीले रकमको प्रवाह, तस्करी सञ्जाल तथा यससँग संलग्न अन्य व्यक्तिहरूको भूमिकाबारे थप अनुसन्धान गरिरहेको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande