
नयाँ दिल्ली, 08 जून (हि.स.)। विपक्षी दलहरूको गठबन्धन ‘इन्डी’ (आईएनडीआईए) को महत्वपूर्ण बैठक हुनुअघि राष्ट्रिय राजधानी दिल्लीमा राजनीतिक गतिविधि तीव्र बनेको छ। सोमबार प्रस्तावित बैठकअघि शहरका विभिन्न प्रमुख स्थानहरूमा कांग्रेस तथा लोकसभाका विपक्षी नेता राहुल गांधीलाई लक्षित गर्दै पोस्टरहरू टाँसिएका छन्। ती पोस्टरहरूमा विपक्षी गठबन्धनका प्रमुख नेताहरूका पुराना अभिव्यक्तिहरूलाई प्रमुखताका साथ प्रस्तुत गर्दै कांग्रेसको विश्वसनीयता तथा गठबन्धनको एकतामाथि प्रश्न उठाइएको छ।
दिल्लीको अशोका रोड, रेल भवन, ली मेरिडियन गोलचक्कर लगायतका महत्वपूर्ण स्थानहरूमा देखिएका पोस्टरहरू राजनीतिक वृत्तमा चर्चाको विषय बनेका छन्। पोस्टरहरूमा कांग्रेसमाथि आफ्नै सहयोगी दलहरूसँग विश्वासघात गरेको तथा गठबन्धनको राजनीतिलाई कमजोर बनाएको आरोप लगाइएको छ।
यी पोस्टरमार्फत इन्डी गठबन्धनभित्र रहेका दलहरूबीच अझै पनि वैचारिक तथा राजनीतिक मतभेद कायम रहेको र कांग्रेसप्रति सहयोगी दलहरूको पूर्ण सहमति नरहेको सन्देश दिन खोजिएको देखिन्छ। पोस्टरहरूमा विभिन्न विपक्षी नेताहरूका पुराना भनाइहरू उद्धृत गर्दै कांग्रेस र यसको नेतृत्वलाई आलोचना गरिएको छ।
एउटा पोस्टरमा राष्ट्रवादी कांग्रेस पार्टी (एससीपी) का प्रमुख शरद पवारको पुरानो भनाइ उल्लेख गरिएको छ, जसमा उनले “राहुल गान्धीमा निरन्तरताको कमी छ” भनेका थिए। अर्को पोस्टरमा पिनराई विजयनको भनाइ रहेको छ, जसमा उनले “राहुल गान्धी राष्ट्रिय नेता हुन्, तर उनीसँग कांग्रेसका स्थानीय कार्यकर्ताजति पनि समझदारी छैन” भनेको उल्लेख छ।
त्यस्तै, द्रविड़ मुनेत्र कड़गम (द्रमुक) नेता उदयनिधि स्टालिनको पुरानो अभिव्यक्ति पनि पोस्टरमा राखिएको छ, जसमा “कांग्रेस हाम्रो काँधमा चढेर अघि बढ्यो र अन्ततः त्यही काँधमा छुरा हान्यो” भनिएको छ।
पोस्टरहरूमा ममता ब्यानर्जीका पुराना भनाइहरू पनि समावेश गरिएका छन्। तीमध्ये “कांग्रेसले आफ्नो विश्वसनीयता गुमाइरहेको छ, हामी त्यसमा निर्भर रहन सक्दैनौं” तथा “यदि कांग्रेसले गठबन्धन चलाउन सक्दैन भने म चलाउन सक्छु” जस्ता अभिव्यक्तिहरू उल्लेख गरिएका छन्।
केही पोस्टरहरूमा आम आदमी पार्टीका नेता अरविंद केजरीवालका पुराना भनाइहरूको पनि सन्दर्भ दिइएको छ, जसमार्फत कांग्रेस र यसको नेतृत्वको आलोचना गरिएको छ।
सबै पोस्टरहरूको तल एउटै नारा लेखिएको छ, “जो आपसमा लडिरहेका छन्, उनीहरूले सँगै कसरी लड्न सक्छन्?”। यस नारामार्फत विपक्षी गठबन्धनभित्रको मतभेद यति गहिरो छ कि उनीहरू एकजुट भएर राजनीतिक संघर्ष गर्न सक्षम छैनन् भन्ने सन्देश दिन खोजिएको छ।
हालसम्म यी पोस्टरहरू कसले टाँसेको हो भन्ने स्पष्ट भएको छैन। पोस्टरमा कुनै संस्था, राजनीतिक दल वा समूहको नाम उल्लेख गरिएको छैन।
यस विषयमा प्रतिक्रिया दिँदै कांग्रेस नेता पवन खेड़ाले आफूले ती पोस्टरहरू नदेखेकाले कुनै टिप्पणी गर्न नसक्ने बताएका छन्।
इन्डी गठबन्धनको बैठकअघि वामपन्थी दलहरूको तर्फबाट पनि कांग्रेसप्रति असन्तुष्टिको संकेत देखिएको छ। डी. राजाले बैठकमा सहभागी हुने दलहरूको संख्या र एजेन्डा अझै पूर्ण रूपमा स्पष्ट नभएको बताएका छन्। उनले वाम दलहरूका आफ्नै राजनीतिक मुद्दाहरू रहेको र ती विषय बैठकमा जोडदार रूपमा उठाइने बताए।
डी. राजाले केरल विधानसभा चुनाउका क्रममा कांग्रेस नेताहरूले वाम दलहरूको इमानदारी र विश्वसनीयतामाथि प्रश्न उठाएको आरोप लगाउँदै त्यसका कारण दुवै पक्षबीच सम्बन्धमा तनाउ उत्पन्न भएको बताएका छन्।
आगामी चुनाउलाई दृष्टिगत गर्दै इन्डी गठबन्धनको यो बैठक अत्यन्त महत्वपूर्ण मानिएको छ। स्रोतहरूका अनुसार, बैठकमा करिब २३ राजनीतिक दल सहभागी हुने सम्भावना छ। बैठकमा आगामी चुनावी रणनीति, विभिन्न राज्यहरूमा सिट बाँडफाँट, साझा कार्यक्रम तथा विपक्षी एकतालाई थप सुदृढ बनाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार, बैठकअघि सार्वजनिक भएका यी पोस्टरहरू विपक्षी एकताको छविलाई चुनौती दिने प्रयास हुन्। राष्ट्रिय स्तरमा आफ्नो रणनीति बलियो बनाउने प्रयास गरिरहेको बेला सहयोगी दलहरूका पुराना भनाइलाई लिएर शुरु भएको यो बहस गठबन्धनका लागि असहज बन्न सक्छ। यद्यपि, बैठकमा हुने छलफल र निर्णयहरूले नै विपक्षले आगामी राजनीतिक चुनौतीहरूको सामना कसरी गर्ने भन्ने निर्धारण गर्नेछ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी