मप्रबाट राज्यसभाको तेस्रो सिटका लागि भाजपाले उम्मेदवार घोषणा गर्यो, महेश केवटले आज मनोनयन दर्ता गर्ने
मुख्यमन्त्री मोहन यादवको साथमा महेश केवट। फाइल फोटो


भोपाल, 08 जून (हि.स.)। मध्य प्रदेशबाट राज्यसभाको तेस्रो सिटका लागि भारतीय जनता पार्टी (भाजपा) ले मछुआ कल्याण बोर्डका अध्यक्ष महेश केवटलाई उम्मेदवार घोषणा गरेको छ। यस सिटका लागि उनको प्रतिस्पर्धा कांग्रेसकी उम्मेदवार मीनाक्षी नटराजनसँग हुनेछ। दुवै नेताले आज सोमबार आफ्नो मनोनयन दर्ता गर्नेछन्।

मध्य प्रदेशबाट राज्यसभाका तीनवटा सिट रिक्त हुन लागेका छन्। यी सिटहरूको पूर्तिका लागि द्विवार्षिक निर्वाचन प्रक्रियाअन्तर्गत आज मनोनयन दर्ताको अन्तिम दिन हो। मध्य प्रदेश विधानसभामा रहेका विधायकहरूको सङ्ख्याका आधारमा राज्यसभाका दुई सिटमा भाजपाको र एक सिटमा कांग्रेसको जित लगभग निश्चित मानिएको छ।

भाजपाले यसअघि नै दुई सिटका लागि तरुण चुग र रजनीश अग्रवाललाई उम्मेदवार घोषणा गरिसकेको छ। दुवै उम्मेदवारले आफ्नो मनोनयन दर्ता गरिसकेका छन्। कांग्रेसले भने एक सिटका लागि मीनाक्षी नटराजनलाई उम्मेदवार बनाएको छ र उनले आज मनोनयन दर्ता गर्नेछिन्। यसैबीच, भाजपाले तेस्रो सिटका लागि पनि महेश केवटलाई उम्मेदवार घोषणा गरेको हो।

भाजपाका तेस्रो उम्मेदवारको विषयमा दिल्लीबाट अन्तिम स्वीकृति प्राप्त भएपछि आइतबार राति मुख्यमन्त्री निवासमा भाजपा विधायक दलको बैठक बसेको थियो। करिब एक घण्टा चलेको उक्त बैठकमा निर्वाचन रणनीति र मनोनयन प्रक्रियाबारे छलफल गरिएको थियो। त्यसपछि महेश केवटको नाममा अन्तिम सहमति भएको हो।

मध्य प्रदेश विधानसभामा हाल २२८ सदस्य मतदानका लागि योग्य छन्। राज्यसभाको एक सिट जित्न ५८ मत आवश्यक पर्छ। भाजपासँग १६४ विधायक छन् भने कांग्रेससँग ६३ विधायक छन्। विधानसभाको वर्तमान सङ्ख्याबलका आधारमा दुई सिट भाजपाले र एक सिट कांग्रेसले जित्ने सम्भावना देखिएको छ।

आज दिउँसो १:३० बजी प्रदेश भाजपा कार्यालयमा मुख्यमन्त्री डा. मोहन यादव, प्रदेश प्रभारी डा. महेन्द्र सिंह, क्षेत्रीय संगठन मन्त्री अजय जामवाल, प्रदेश अध्यक्ष हेमन्त खण्डेलवाललगायत मन्त्री, विधायक तथा पार्टी पदाधिकारीहरू भेला हुनेछन्। त्यहाँबाट सबैजना र्यालीका रूपमा विधानसभा पुग्नेछन्, जहाँ भाजपा उम्मेदवार महेश केवटले मनोनयन दर्ता गर्नेछन्।

यसरी नै कांग्रेस उम्मेदवार मीनाक्षी नटराजन पनि आफ्ना समर्थक तथा पार्टी नेताहरूको उपस्थितिमा विधानसभा पुगेर मनोनयन दर्ता गर्नेछिन्। यस अवसरमा पूर्व मुख्यमन्त्री दिग्विजय सिंह, प्रदेश कांग्रेस अध्यक्ष जितु पटवारीलगायत अन्य पार्टी पदाधिकारीहरू पनि उपस्थित रहनेछन्।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande