
नयाँ दिल्ली, 08 जून (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले प्रकृतिसँग सन्तुलन, पर्यावरण संरक्षण तथा सम्पूर्ण जीवजन्तुको कल्याणलाई भारतीय संस्कृतिको मूल भावना भएको बताएका छन्। उनले यही व्यापक दृष्टिकोणका साथ भारत आज प्रगति र समृद्धिको मार्गमा निरन्तर अघि बढिरहेको उल्लेख गरेका छन्।
प्रधानमन्त्रीले सोमबार सामाजिक सञ्जाल एक्समार्फत लेख्दै प्रकृतिसँग सन्तुलन कायम गर्दै सबै जीवहरूको कल्याण सुनिश्चित गर्नु हाम्रो संस्कृतिको आधारभूत सिद्धान्त रहेको बताए। उनले यस विचारलाई स्पष्ट पार्न एउटा संस्कृत सुभाषित पनि साझा गरेका छन्।
यावच्चतस्रः प्रदिशश्चक्षुर्यावत् समश्नुते।तावत् समैत्विन्द्रियं मयि तद्धस्तिवर्चसम्॥
यस सुभाषितको अर्थ चारै दिशाजत्तिकै व्यापक, दृष्टिजत्तिकै सजग र दूरदर्शी समृद्धि तथा शक्तिको कामना गर्नु हो। यसको सन्देश मानिसले प्रकृतिसँग पूर्ण सामञ्जस्य कायम गर्दै अघि बढ्नुपर्छ, पर्यिवरणको संरक्षण गर्नुपर्छ र सबै जीवहरूको कल्याण सुनिश्चित गर्नुपर्छ भन्ने रहेको छ।
प्रधानमन्त्रीले भारतको प्रगति केवल आर्थिक विकासमा मात्र सीमित नभई पर्यावरण संरक्षण र सम्पूर्ण प्राणीहरूको दिगो कल्याणको भावनासँग पनि जोडिएको बताए।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी