
- पुस्तकालयसॅंग हाम्रो स्वाभिमान अनि आत्मसम्मान जोड़िएको छ: पूर्ण गुरुङ 'निरुपम'
खरसाङ, 08 जून (हि.स.)। भारतमा गोर्खाहरूको सबैभन्दा जेठो संस्था गोर्खा जन पुस्तकालय खरसाङको ११४औँ स्थापना दिवस कार्यकारी समितिका उपाध्यक्ष प्रकाश प्रधानको अध्यक्षता अनि पुस्तकालयका पूर्व अध्यक्ष, नाटककार, लेखक पूर्ण गुरुङ 'निरुपम' को प्रमुख आतिथ्यमा सम्पन्न गरियो। उक्त कार्यक्रम आज पुस्तकालयको डा. पारसमणि प्रधान प्रेक्षागृहमा आयोजन गरियो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा साहित्य अकादेमी नेपाली भाषा परामर्श समिति सदस्या डा. आशा मुखिया लामा, पुस्तकालय पूर्व सचिव एलडी. मोक्तान, पूर्व अध्यक्ष एवम् वर्तमान कार्यकारी सदस्य एवं समाजसेवी तिलक शर्मा, स्वर्ण सदस्य सङ्गीत साधक एंव गजलकार गोविन्दसिंह घतानी, वरिष्ठ साहित्यकार, समालोचक एंव सूचना एवं सांस्कृतिक विभाग, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सह निर्देशक विमल राई आदि उपस्थित थिए।
कार्यक्रम प्रमुख अतिथि पूर्ण गुरुङ 'निरुपम' ले आफ्नो वक्तव्यमा पूर्वमा आफू उपाध्यक्ष अनि अध्यक्ष समेत रहेको उल्लेख गर्दै पुस्तकालयसित सबैके स्वाभिमान अनि आत्मसम्मान जोड़िएको बताए। समयमा यस पुस्तकालयले जातीय जागरणको विगुल फुकेको बताउँदै ख्यातिप्राप्त कवि, प्रशासनिक अधिकारी, समाजसेवी र संस्थाहरूको पुस्तकालय आगमन अनि गतिविधिबारे प्रकाश पारे।
कार्यक्रम अध्यक्षको वक्तव्यमा प्रकाश प्रधानले सांसद क्षेत्रीय विकास कोष मार्फत् निर्माण भएको ग्रन्थागार चाँड़ै उद्घाटन हुने आशा व्यक्त गरे। तिनले गोर्खा जन पुस्तकालय खरसाङको तर्फबाट सदस्य एवम् दाता सबैमा आभार पनि प्रकट गरे।
पुस्तकालय अक्षय कोषमा अनुदान प्रदान गर्ने व्यक्तिहरू क्रमैले न्यायधीश शरदकुमार छेत्री, नयाँ बजार, बलराम राई, पूर्व निदेशक, आकाशवाणी खरसाङलाई कृतज्ञता पत्र प्रदान गरियो। यसै क्रममा यस वर्ष आजीवन सदस्यता ग्रहण गर्ने सदस्यहरू सजित खाइबा, खरसाङ बजार, एडविन छेत्री, सन्त मेरिज, दावा लामा, एमभी पथ, विजया ब्लोन, खरसाङ आदिलाई स्मृति चिन्ह प्रदान गरियो भने अध्ययन कक्षको कुर्सी प्रदान गर्ने सदस्यहरूलाई पनि सम्मान गरियो।
कार्यक्रममा हालै पदोन्नति प्राप्त खरसाङका सुपुत्र मेजर जनरल मुनेषचन्द्र तामाङकी माता विजया ब्लोनलाई पनि सम्मान गरिएको थियो।
हिन्दुस्थान समाचार / हनोक