
खरसाङ, 08 जून (हि.स.)। अनुसूचित जाति (कादसा) संयुक्त मञ्चको तत्वावधानमा आज खरसाङस्थित मण्टीभियट खेल मैदान नजिक महकुमा स्तरीय सभा सम्पन्न गरियो। गोर्खे अनुसूचित जाति (कामी, दमाई, सार्की) समुदायको भविष्य, संविधानिक हक र अधिकार, प्रतिनिधित्व, सामाजिक सुरक्षा तथा स्थायी राजनीतिक समाधानको सन्दर्भमा समुदायको भूमिकाबारे केन्द्रित उक्त सभामा विभिन्न क्षेत्रका प्रतिनिधि, बुद्धिजीवी, युवा तथा समाजसेवीहरूको सहभागिता रहेको थियो।
सभाको सभाध्यक्षता संयुक्त मञ्चका मुख्य सल्लाहकार सुरज कुमार नौबागले गरेका थिए। कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै वर्तमान सामाजिक तथा राजनीतिक परिवेशमा गोर्खे अनुसूचित जाति समुदायबीच खुल्ला संवाद, साझा समझदारी तथा भविष्यप्रति सचेत पहल आवश्यक रहेको विषयमा जोड दिइयो।
सभामा अनुसूचित जाति समुदायको भविष्य, संवैधानिक हक र अधिकार, प्रतिनिधित्व, सामाजिक सुरक्षा, शिक्षा, भूमि सम्बन्धी प्रश्न, युवाको भूमिका तथा भावी पुस्ताको हित जस्ता विषयमा खुला छलफल गरिएको थियो। सम्भावित स्थायी राजनीतिक समाधानको सन्दर्भमा समुदायको सहभागिता तथा साझा समझदारी आवश्यक रहेको विषयमा सहभागीहरूले आफ्नो धारणा राखेका थिए।
सभालाई सम्बोधन गर्दै अखिल भारतीय नेपाली अनुसूचित जाति संघका अध्यक्ष बुद्धबिर सार्कीले वर्तमान परिस्थितिमा समुदाय एकबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै अधिकार, सम्मान तथा भविष्यका विषयमा साझा सोचका साथ अघि बढ्नुपर्ने बताए।
संयुक्त मञ्चका उपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता विकास लोहानीले समाजमा सकारात्मक तथा बौद्धिक विकाससँगै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै युवा तथा समाजलाई रचनात्मक सोचका साथ अघि आउन आह्वान गरेका थिए।
सभामा विभिन्न समाज तथा क्षेत्रका प्रतिनिधिहरूले आफ्नो आफ्नो समाजको अवस्था, चुनौती तथा समुदायसँग सम्बन्धित विषयमा मन्तव्य व्यक्त गरेका थिए। साथै, समुदायको आवाजलाई संगठित रूपमा अघि बढाउन डेलिगेसन टीम गठन, समन्वय तथा आगामी कार्यक्रमबारे समेत छलफल गरिएको थियो।
कार्यक्रममा अखिल भारतीय नेपाली अनुसूचित जाति संघका अध्यक्ष, सचिव तथा दमाई समाज, विश्वकर्मा समाज, सार्की समाज लगायत विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
हिन्दुस्थान समाचार / हनोक