कोमल चामलिङले युवाहरूलाई निडर भएर समर्पणका साथ काम गर्न आग्रह गरिन्
एसडीएफ युवा मोर्चाको बैठकलाई सम्बोधन गर्दै एसडीएफ नेतृ कोमल चामलिङ।


गान्तोक, 08 जून (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) को नाम्ची जिल्ला युवा मोर्चाले आज जिल्ला पार्टी कार्यालयमा युवा बैठक आयोजना गऱ्यो। युवा मोर्चा महासचिव प्रभारी रिवाज लिम्बू र युवा मोर्चा उपाध्यक्ष प्रभारी सुमन चामलिङको नेतृत्वमा आयोजित बैठकमा एसडीएफ चेली शाखाकी राज्य प्रभारी कोमल चामलिङ विशेष रूपमा उपस्थिति थिइन्।

बैठकमा संगठनात्मक सुदृढीकरण प्रक्रियाको एक भागको रूपमा युवा मोर्चाले नामथाङ रातेपानी निर्वाचन क्षेत्रको लागि रूपेश गुरुङलाई युवा संयोजक र पोकलोक कामराङ निर्वाचन क्षेत्रको लागि विनोद जोगीलाई युवा संयोजक नियुक्त गऱ्यो।

एसडीएफ चेली शाखाकी राज्य प्रभारी कोमल चामलिङले आफ्नो सम्बोधनमा समाज र राजनीतिमा युवाहरूको जिम्मेवारीमाथि प्रकाश पारिन्। उनले पवन चामलिङको नेतृत्वमा एसडीएफ पार्टी कसरी एक जीवन्त राजनीतिक शक्तिको रूपमा देखा पर्‍यो भन्ने अवगत गराउॅंदै युवाहरूलाई निडर भएर समर्पणका साथ काम गर्न आग्रह गरिन्।

उनले पार्टीको विचारधारालाई तल्लो तहसम्म पुर्‍याउन र जनतासँगको सम्बन्ध बलियो बनाउनुपर्ने आवश्यकतामा जोड दिइन्। उनले युवा सदस्यहरूलाई सतर्क रहन र मतदाताहरूलाई एसआईआर फारामहरू सावधानीपूर्वक भर्न सहयोग गर्न पनि आह्वान गरिन्।

सभाध्यक्ष प्रकाश राईले आफ्नो सम्बोधनमा पार्टीले आफूलाई नवीकरण गरेको र सिक्किमको पुनर्निर्माणको लागि स्पष्ट दृष्टिकोणका साथ अगाडि बढिरहेको बताए। उनले आजका युवाहरू नयाँ सिक्किमका शिल्पकार बन्ने बताउॅंदै राज्यलाई अनुभवी र दूरदर्शी नेतृत्वको आवश्यकता रहेको बताए। उनले पवन चामलिङसँग सिक्किमलाई उज्ज्वल भविष्यतर्फ डोऱ्याउन सक्ने दृष्टिकोण र क्षमता रहेको विश्वास व्यक्त गरे।

बैठकलाई सम्बोधन गर्दै नाम्ची-सिङ्गिथाङ निर्वाचन क्षेत्रका प्रभारी विकास राईले युवा सदस्यहरूलाई पार्टी गतिविधिहरूमा सक्रिय रूपमा भाग लिन र जनताको कल्याणको लागि लगनशीलताका साथ काम गर्न प्रोत्साहित गरे।

महासचिव प्रभारी लिम्बूले बैठकको कार्यसूची प्रस्तुत गर्दै पार्टी संगठनलाई सुदृढ़ पार्न र सिक्किमको नवनिर्माणमा योगदान पुर्‍याउन नाम्ची जिल्ला युवा मोर्चाको भूमिका र जिम्मेवारीहरूमाथि प्रकाश पारेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande