
गान्तोक, 08 जून (हि.स.)। सिक्किम नृत्य, नाटक, सङ्गीत र चलचित्र बोर्डको दोस्रो बोर्ड बैठक आज दिउँसो मनन केन्द्रस्थित बोर्डका अध्यक्षको कार्यालयमा सम्पन्न भयो। बैठकको आयोजन गर्नुको उद्देश्य समितिको सदस्यता सुधार र अन्तिम रूप दिनु, सिङ्गल-विन्डो क्लियरेन्स प्रणाली लागू गर्ने रणनीतिहरू र लाइन विभागहरूबीच समन्वय सुधार गर्ने बारेमा छलफल गर्नु रहेको बताइएको छ।
बैठकमा सिक्किमलाई एक प्रमुख छायाङ्कन गन्तव्यको रूपमा प्रवर्द्धन गर्न, थप फिल्म निर्माताहरूलाई आकर्षित गर्ने, स्थानीय कलाकारहरू र चलचित्र-सम्बन्धित कार्यबलहरूको विस्तृत डाटाबेस संकलन गर्न तथा चलचित्र-सम्बन्धित कार्यशालाहरू आयोजना गर्न रणनीतिहरूबारे पनि छलफल गरियो। यसैगरी, बोर्डलाई अझ प्रभावशाली बनाउन सम्बन्धित विभागहरूको भूमिका र जिम्मेवारीहरू रेखांकित गरियो।
सूचना तथा प्रसारण मन्त्रालयको निर्देशन अनुसार, चलचित्र सहजीकरण कार्यालय (एफएफओ) ले अन्तरराष्ट्रिय र घरेलु दुवै फिल्म निर्माताहरूका लागि सिङ्गल-विन्डो क्लियरेन्स र सहजीकरण संयन्त्र तयार गरेको छ। यसको प्राथमिक लक्ष्य अनुमति प्रक्रियालाई सहज बनाएर भारतलाई एक प्रमुख छायाङ्कन गन्तव्यको रूपमा स्थापित गर्नु रहेको बताइएको छ।
बैठकमा आईपीआर विभागकी सचिव अन्नपूर्ण आले, बोर्डका अध्यक्ष टाशी छिरिङ भोटिया, आईपीआर विभागका निर्देशक सुनील कुमार मोथे, अतिरिक्त निर्देशक विशाल खवास तथा अन्यहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल