
गान्तोक, 09 जून (हि.स.)। मुख्यमन्त्री प्रेससिंह तामाङले केन्द्रिय जल शक्ति मन्त्री सीआर पाटिलको उपस्थितिमा सिक्किम सरकार र भारत सरकारको जल शक्ति मन्त्रालयबीच जल जीवन मिसन (जेजेएम) 2.0 अन्तर्गत सम्झौता ज्ञापन-पत्र (एमओयू) आदान-प्रदान समारोहमा भाग लिएका छन्।
मुख्यमन्त्रीले कार्यक्रमको हिस्सा हुन पाउनुलाई ठूलो सौभाग्य र सम्मानको रूपमा वर्णन गरे। उनले जल जीवन मिसनको सफल कार्यान्वयनका लागि प्रधानमन्त्री र जल शक्ति मन्त्रालयप्रति कृतज्ञता व्यक्त गरे, जसले ग्रामीण क्षेत्रमा सुरक्षित पिउने पानीको पहुँचमा उल्लेखनीय सुधार गरेको छ।
उनले सिक्किमको पहाड़ी भूभागमा जलापूर्ति पूर्वाधार विकास गर्ने चुनौती पार गर्न भारत सरकारको सहयोग महत्त्वपूर्ण रहेको बताए। जेजेएम 2.0 प्रति राज्यको प्रतिबद्धता दोहोऱ्याउँदै उनले सिक्किम जस्तो कमजोर हिमाली राज्यका लागि दिगोपन, स्रोत संरक्षण, जलको गुणस्तर र दीर्घकालीन मरम्मतसम्भारमा यसको ध्यानकेन्द्रित भएको उल्लेख गरे।
मुख्यमन्त्रीले जेजेएम 2.0 दिशानिर्देशको अधिसूचना हुनुभन्दा पहिले स्वीकृत वा शुरु गरिएका रेट्रोफिटिङ र क्षमता अभिवृद्धि परियोजनाहरूमा केन्द्रिय सहयोग विस्तार गर्ने विषयमा विचार गर्न पनि मन्त्रालयलाई आग्रह गरे। उनले भने, “सिक्किमले पहिलेका मापदण्डहरू अनुसार यी परियोजनाहरू सञ्चालन गरेको छ र केन्द्रिय सहयोग प्राप्त गर्ने अपेक्षाका साथ पर्याप्त स्रोतहरू लगानी गरेको छ।”
यस अवसरमा जल शक्ति मन्त्रालय (पिउने पानी तथा सरसफाई विभाग), राष्ट्रिय जल जीवन मिसनका मिसन निर्देशक, मन्त्रालयका वरिष्ठ अधिकारीगण, सिक्किम सरकारको ग्रामीण विकास विभागका सचिव र मन्त्रालय र सिक्किम सरकार दुवैका अधिकारीहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल