
गान्तोक, 09 जून (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका पूर्व उम्मेदवार नवाङ छोपेल लेप्चा लगायत काबी-लुङचोक निर्वाचन क्षेत्रबाट ३५ परिवार आज फेन्सोङमा आयोजित एक कार्यक्रममा भारतीय जनता पार्टी (भाजपा) मा सामेल भएका छन्।
भाजपामा प्रवेश गर्नेहरूमा सिक्किम सरकारका पूर्व निर्देशक तथा २०२४ को विधानसभा चुनाउमा एसडीएफका उम्मेदवार रहेका नवाङ छोपेल लेप्चाका साथै पूर्व पञ्चायत सदस्यहरू, समाजसेवीहरू तथा विभिन्न क्षेत्रका प्रतिबद्ध नागरिकहरू रहेको भाजपा सिक्किमले आज प्रेस विज्ञप्तिमा बताएको छ। प्रदेश अध्यक्ष तथा अन्य वरिष्ठ नेताहरूले नयाँ सदस्यहरूलाई स्वागत जनाए।
भाजपामा प्रवेश गरेपछि नयाँ सदस्यहरूले पार्टीको विचारधारा, नेतृत्व तथा विकासमुखी दृष्टिकोणप्रति आफ्नो पूर्ण विश्वास व्यक्त गरेको बताइएको छ। साथै, उनीहरूले काबी-लुङचोकका जनतासँग अझ नजिकबाट सम्पर्क स्थापित गर्दै पार्टीका नीति, कार्यक्रम तथा सन्देश प्रत्येक घरसम्म पुर्याउने प्रतिबद्धता पनि दोहोर्याएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै भाजपा प्रदेश अध्यक्ष डीआर थापाले ‘विकसित भारत’ र ‘विकसित सिक्किम’ को परिकल्पना साकार पार्न पार्टीले अवलम्बन गरिरहेका विचार, कार्यक्रम तथा नीतिहरूबारे प्रकाश पारे। उनले नवप्रवेशी सदस्यहरूलाई प्रधानमन्त्री नरेन्द्र मोदीको सपनालाई साकार पार्न समर्पित भएर काम गर्न आग्रह गर्दै राज्य र राष्ट्रको विकास तथा प्रगतिमा समाजका सबै वर्गले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
यो प्रवेश कार्यक्रमले सिक्किमका जनतामा भाजपा र यसको नेतृत्वप्रति बढ्दो विश्वास तथा भरोसालाई प्रतिबिम्बित गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। समाजका विभिन्न वर्गबाट प्राप्त भइरहेको समर्थनले राज्यका जनताको कल्याण, विकास र आकांक्षाहरू पूरा गर्ने भाजपा अभियानलाई अझ सशक्त बनाएको बताइएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल