
गान्तोक, 09 जून (हि.स.)। उत्तर सिक्किममा एक ट्याक्सी वाहन चालकमाथि कथित भारतीय सेनाका जवानहरूले कुटपिट गरिरहेको भिडियो सामाजिक सञ्जालहरूमा निकै भइरल बनेका छन्। उक्त भिडियो हेरेपछि मानिसहरूले घटनाप्रति आक्रोश व्यक्त गरिरहेका छन्।
सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीको चालक मोर्चाले पनि उक्त घटनाप्रति दु:ख प्रकट गर्दै पीडित चालकको पक्षमा न्यायको माग गरेको छ। चालक मोर्चा प्रवक्ता प्रशान्त प्रधानले उत्तर सिक्किममा राज्यका चालकमाथि सेनाद्वारा गरिएको बर्बरतापूर्ण हमलाले चालकहरुलाई असुरक्षा बोध गराएको बताएका छन्। उनले सीमावर्ती क्षेत्रमा सेनाद्वारा सिक्किमे नागरिकमाथि यसरी हमला गर्नु अत्यन्त दु:खद कुरा रहेको बताएका छन्।
उनले सिक्किमका चालकहरु अहिले जताततै हमलाका शिकार भइरहेको दाबी गरेका छन्। चालकहरुको आत्मसम्मान र चालक पेशाको गौरवमाथि यसरी बारम्बार हमला भइरहॅंदा पनि त्यस्ता तत्वहरूलाई प्रशासनले सख्त कारबाही गर्न नसक्नु अझ दु:खको कुरो रहेको उनले बताएका छन्।
एसडीएफ चालक मोर्चाले उत्तर सिक्किममा चालकमाथि भएको कुटपिटको घटनालाई सिक्किम सरकारले संज्ञानमा लिएर यसमा संलग्न आक्रमणकारीलाई दण्डित गर्नुपर्छ भनी माग गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल