11औं मिवाङ डेञ्जोङ छोग्याल छेम्पो सर टाशी नामग्यालको 129औं जन्म जयन्ती पालन
 छेम्पो सर टाशी नामग्यालको 


गान्तोक, 26 अक्टोबर (हि.स.)। सिक्किमका 11औं मिवाङ डेञ्जोङ छोग्याल छेम्पो सर टाशी नामग्यालको 129औं जन्म जयन्ती आज राजधानी गान्तोकको स्थानीय एउटा होटलमा मनाइयो। विविध कला अकादमी र जर्नलिस्ट यूनियन अफ् सिक्किमको संयुक्त तत्वावधानमा आयोजित उक्त कार्यक्रममा थिन्ले नामग्याल देन्सापा मुख्य वक्ताका रूपमा उपस्थित थिए।

मुख्य वक्ता देन्सापाले 11औं मिवाङ डेञ्जोङ छोग्याल छेम्पो सर टाशी नामग्यालको शासनकाललाई स्वर्ण युगको संज्ञा दिए। उनले यस किसिमको कार्यक्रमको आयोजना बिरलै हुने गरेको बताउॅंदै इतिहासको संरक्षण आवश्यक रहेको बताए। उनले विद्यार्थीहरू र युवा पीढ़ीहरूले राज्यको इतिहास जान्नु आवश्यक रहेको मनतव्य राखे।

उनले 11औं मिवाङ डेञ्जोङ छोग्याल छेम्पो सर टाशी नामग्यालको पचास वर्षको शासनमा सिक्किममा राजनीतिक, सामाजिक, सांस्कृतिक, कला, साहित्य सबै क्षेत्रमा उल्लेखनीय विकास भएको अवगत गराए। उनले सर टाशी नामग्यालको कार्यकालमा जति पनि सुधारहरू भए त्यसको पक्कै पनि प्रशंसा गर्नुपर्छ भनी बताए। उनले आज सिक्किमको एउटा धरोहरकै रूपमा स्थापित भएको देउरालीस्थित नामग्याल इन्स्टीट्यूट अफ् टिबेटोलोजी पनि सर टाशी नामग्यालकै दूरदर्शीताको देन रहेको जानकारी गराए।

विविध कला अकादमीका अध्यक्ष किरण रसाइलीद्वारा स्वागत सम्बोधन प्रस्तुत गरिएको कार्यक्रममा वरिष्ठ पत्रकार प्रवीण खालिङले 11औं मिवाङ डेञ्जोङ छोग्याल छेम्पो सर टाशी नामग्यालको शासनकालमा सिक्किममा कला, साहित्य, संगीत आदिको क्षेत्रमा भएको विकासमाथि प्रकाश पारेका थिए। कार्यक्रमलाई राजधानीका एक पुराना व्यापारी रमेश पेरीवालले सम्बोधन गर्दै सर टाशी नामग्याल राज्यका सबै समुदायहरूप्रति समभव राख्ने एक दयालु एवं परोपकारी शासक रहेको बताए।

कार्यक्रमलाई नामग्याल इन्स्टीट्यूट अफ् टिबेटोलोजीका निदेशक पीडब्ल्यु रिन्जिङले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा जर्नलिस्ट यूनियन अफ् सिक्किमका अध्यक्ष भीम राउतले धन्यवाद ज्ञापन प्रस्तुत गरेका थिए।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande