राजनीति आ-आफ्नो भए पनि विकासको लागि मिलेर काम गर्न तयार छौं - रोशन गिरी
रोशन गिरी


खरसाङ, 26 अक्टोबर (हि.स.)। गोजमुमो महासचिव रोशन गिरीले अनित थापासित पहाड़को विकासको निम्ति एक साथ हिँड़न सकिने बताएका छन्। रोशन गिरीले मुख्यमन्त्रीसितको बैठकमा भाग लिएर निस्किएपछि पत्रकारहरूसित बोल्दै भने, पहाड़को विकासको निम्ति कुनै विवाद छैन, राजनीतिक आइडियोलजी आ-आफ्नो छ। पहाड़, तराई, डुवर्सको विकासको निम्ति मिलेर काम गर्न सकिन्छ, काम गर्नपर्छ।

उनले पहाड़मा सब-अर्डिनेट बोर्ड बनाएर यहाँ रहेका 4 हजारभन्दा अघिक रिक्त पदहरूमा बेरोजगारहरूलाई नियुक्ति गर्नपर्छ भन्दै यो कुरो मैले मुख्यमन्त्री समक्ष उठाएको बताए। उनले पहाड़को निम्ति स्कूल सर्भिस कमिशन गठन गरेर शिक्षकहरू नियुक्त गरिनपर्ने, कलेज सर्भिस कमिशन गठन गरेर प्राध्यपकहरू नियुक्त गरिनु पर्ने र पहाड़को स्थायी राजनीतिक समाधान गरिन पर्ने कुराहरू पनि बताए।

गिरीले भने, दागोपाप अनि जीटीएले पहाड़का मानिसहरूको आकंक्षा पुरा गर्न सक्दैन। हामी राज्यभित्रको राज्य चाहान्छौँ।मुख्यमन्त्रीले पहाड़को राजनीतिक समस्या समाधानको निम्ति जुन निर्णय लिनेछिन्, त्यो स्वीकार गर्ने छौ। रोशन गिरीले पहाड़मा 2001 मा अन्तिमपल्ट पञ्चायत चुनाउ भएको बताउँदै जीटीएको सम्झौता अनि जीटीएको ऐनमा तीन स्तरीय पञ्चायत चुनाउको व्यवस्था रहेको बताए। उनले संविधान संशोधन गरेर पहाड़मा तीन स्तरीय पञ्चायत चुनाउ गराउन पर्छ भनी बताए। उनले चिया बगान अनि सिन्कोना बजारका मानिसहरूको पर्जापट्टाको विषयमा पनि आफुले मुख्यमन्त्रीसित कुरा गरेको बताए। मुख्यमन्त्रीले छठ पूजापछि यस विषयमा कार्य गरिने आश्वासन दिएकी छिन्।

स्मरण गराइन्छ, गोजमुमो महासचिव रोशन गिरी मुख्यमन्त्रीसितको प्रशासनिक बैठकमा उपस्थित हुनलाई खरसाङ आएका थिए। मुख्यमन्त्रीले बैठकमा रोशन गिरीलाई पनि पहाड़को विकासको निम्ति गठन गरिने समितिमा अनित थापा, अमरसिंह राई, गौतम देव अनि अन्यहरूसितै सामेल गरिने घोषणा गरेकी छिन्।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande