बीसीसीआईका मानद सचिव जय शाहप्रति कृतज्ञता व्यक्त
बीसीसीआई


-दश करोड़ रूपियॉं अग्रिम पूर्वाधार अनुदान जारी गर्ने घोषणा

-वार्षिक अनुदान बढ़ाएर 12.5 करोड़ गर्ने घोषणा

गान्तोक, 06 दिसम्बर (हि.स.)। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई) ले सिक्किम राज्यको निम्ति अनुमोदन गरेको स्वीमिङ पूल, जिम र इण्डोर ब्याटिङ पिचसहितको अत्याधुनिक पूर्वाधार सुविधाहरूको निर्माण कार्य फरवरी 2022 देखि शुरू हुने सम्भावना व्यक्त गरिएको छ। बीसीसीआईका मानद सचिव जय शाहले जनवरी, 2021 मा सिक्किम भ्रमण अवधि उक्त पूर्वाधार अनुमोदन गरेका थिए। उनी क्रिकेटको विकास देखरेख गर्न सिक्किमसहित अरूणाचल प्रदेश र उत्तराखण्डका राज्य प्रभारी पनि हुन्।

यसै क्रममा सिक्किम क्रिकेट एसोसिएशन (एसआईसीए) का अध्यक्ष लोब्जाङ तेन्जिङलगायत अन्यहरूको एक प्रतिनिधि दलले गत तीन दिसम्बरको दिन मानद सचिव शाहसित भेट गरेर कोषको कमीका कारण पूर्वाधार विकासमा ढिलाई भइरहेको कुरा उठान गरेको बताइएको छ। मानद सचिव शाहले पूर्वोत्तर राज्यहरूमा कोषको कमीका कारण क्रिकेटको विकासमा वाधा उत्पन्न भइरहेको कुरा बुझेपछि उनले अग्रिम पूर्वाधार अनुदानको रूपमा दश करोड़ रूपियॉं जारी गर्ने घोषणा गरेका छन्।

यसरी नै उनले आगामी वित्तीय वर्षदेखि वार्षिक अनुदान पनि बढ़ाएर 12.5 करोड़ गरिदिने घोषणा गरे। अहिलेसम्म यो वार्षिक अनुदान 14 वटा बीसीसीआई टूनामेन्टमा सहभागी बन्न, व्यावसायिक शुल्क, शिविर, स्थानीय टूर्नामेन्ट र खेल विकास गतिविधिहरूको निम्ति तयार गरिएको बताइएको छ। कोषको वृद्धिले राज्यमा क्रिकेट गतिविधिहरूको विकासमा ठूलो टेवा पुग्ने एसआईसीए अध्यक्षले प्रेस बयानमा बताएका छन्।

अध्यक्ष लोब्जाङ तेन्जिङले बीसीसीआईका मानद सचिव जय शाहप्रति पूर्वोत्तर राज्यहरूमा क्रिकेटको विकासको निम्ति व्यक्तिगत रूची देखाएकोमा कृतज्ञता व्यक्त गरेका छन्। खेलको माध्यमद्वारा पूर्वोत्तर राज्यहरूलाई एकीकृत गर्ने उनको नीतिले आगामी वर्षहरूमा क्रिकेटको क्षेत्रमा उत्कृष्ट क्रिकेट खेलाड़ीहरू जन्माउने उनले आशा व्यक्त गरेका छन्। उनले एनईसीडीसीका सदस्यहरूलाई पनि पूर्वोत्तर क्षेत्रमा क्रिकेटको विकासको निम्ति इमानदारीका साथ काम गर्न अपील गरेका छन्।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande