पहाड़का तीनजना महिला फुटबल खेलाड़ीहरू तामिलनाडु लिगमा खेल्न जाने
तामिलनाडु लिगमा खेल्न जाने


खरसाङ, 08 दिसम्बर (हि.स.)। पहाड़का तीनजना महिला फुटबल खेलाड़ी तामिलनाडु फुटबल लिगमा खेल्न गइरहेका छन्। खरसाङ फुटबल एसोसिएशनको पहलमा तीनजना महिला खेलाड़ी क्रमैले कालेबुङकी एन्जिला भोटिया र पन्दिमित लेप्चा र खरसाङको सिविटारकी शबनम राई पहाड़लाई नै प्रतिनिधित्व गर्दै तामिलनाडु लिग खेल्न प्रस्थान गरिरहेका छन्। तीनैजना महिला खेलाड़ी भोलि विहिवार बागडोहरा भएर चेन्नई प्रस्थान हुनेछन्।

चेन्नईमा तीनजनाले तामिलनाडु फुटबल लिगमा सेतु एफसी क्लबबाट खेल्ने छन्। यस विषयमा आज खरसाङमा एक पत्रकार सम्मेलन बोलाएर खरसाङ फुटबल एसोसिएशनको पक्षबाट जानकारी गराइएको छ। एसोसिएशनको पक्षमा सभापति छिरिङ खाईबाले खरसाङ फुटबल एसोसिएशनको टेक्निकल डाइरेक्टर क्रिस्पिन छेत्रीको माध्यमबाट पहाड़का तीनजना महिला फुटबल खेलाड़ी तामिलनाडु लिगमा भाग लिन गइरहेको बताए। उनीहरू आगामी 11 दिसम्बरको दिन चेन्नईको सेतु एफसी क्लबको तर्फबाट खेल्ने पनि उनले बताएका छन्। उनले उक्त तामिलनाडु लिगमा खेल्न तीनजना महिला फुटबल खेलाड़ीलाई लिएर खरसाङ फुटबल एसोसिएशनको तर्फबाट बिशाल शर्मा र मेघराज थापा चेन्नई जाने बताए।

खाईबाले तामिलनाडु लिगमा राम्रो प्रदर्शन गर्न सके इण्डियन महिला फुटबल टीममा पनि चयन हुने सम्भावना रहने बताए। उनले गत केही समय अघि एसोसिएशनले खरसाङ महकुमा र जिल्ला स्तरीय स्तरीय महिला फुटबल टुर्नामेन्ट आयोजना गरी खेलाड़ीहरू चयन गरेर बाहिर खेल्न प्रोत्साहन गरेको बताए। उनले तीनजना महिला खेलाड़ीले 14 दिनसम्म चेन्नईमा रहेर तामिलनाडु लिगमा खेल्ने बताए।

पत्रकार भेलामा खरसाङ फुटबल एसोसिएशनका खेलाड़ीहरूलाई अमित शेर्पाद्वारा सप्ताहमा एकपल्ट नि:शुल्क जिममा ट्रेनिङ दिने भनिएकोले एसोसिएसनको पक्षमा सचिव सुदिप राईको बाहुलीबाट स्मृति चिन्ह्र प्रदान गरी सम्मान गरिएको छ। यसरी पहाड़बाट तामिलनाडु लिगमा खेल्न गइरहेका तीनजना महिला खेलाड़ीहरूमा पन्दिमित लेप्चाले यो मौका पाएकोमा धेरै खुशी लागिरहेको बताइन्। उनले यसरी मौका दिएकोमा खरसाङ फुटबल एसोसिएशनप्रति आभार प्रकट गरिन्।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande