एक जनवरीदेखि राजभवन आम मानिसहरू र पर्यटकहरूको निम्ति खुल्ला गरिने
एक जनवरीदेखि राजभवन खुल्ला गरिने


गान्तोक, 09 दिसम्बर (हि.स.)। राजधानी गान्तोकस्थित राजभवन अब आम मानिसहरूका साथै पर्यटकहरूको निम्ति पनि खुल्ला गरिने भएको छ। आगामी 1 जनवरी, 2022 देखि इच्छुक व्यक्तिहरू निर्धारित समयमा गएर शुन्दर राजभवन परिसरको भ्रमण गर्न सक्नेछन्। उक्त जानकारी राज्यपाल गंगा प्रसादले आज राजभवनमा आयोजित एक संवाददाता सम्मेलनमा दिएका हुन्।

राज्यपाल प्रसादले सिक्किमलाई एउटा पर्यटन राज्यको रूपमा चिनिन्छ र यदि राजभवनलाई पनि पर्यटनसित जोड्न सकिए पर्यटकहरूले यसको लाभ उठाउन सक्नेछन् भनी बताए। यस अतिरिक्त राजभवनमाथि आम मानिसहरूको पनि अधिकार छ भन्दै सोही विषयहरूलाई ध्यानमा राखेर राजभवन आम मानिसहरूका साथै पर्यटकहरूको निम्ति खुल्ला गर्ने निर्णय लिइएको बताए।

उनले सिक्किमको राजभवनको ऐतिहासिक महत्व रहेको बताउॅंदै यो राजभवन सिक्किम भारतमा विलय हुनुभन्दा अघिदेखि रहेको जानकारी गराए। यस कारण पर्यटकहरूले अवश्य पनि यस्तो ऐतिहासिक धरोहरलाई हेर्न रूचाउने छन् भनी उनले बताए। उनले राजभवन परिसरमा नेताजी सुभाषचन्द्र बोस र सरदार वल्लभभाई पटेलको मूर्ति, 60 फिट अग्लो राष्ट्रिय झण्डा, चिल्ड्रेन पार्क आदि हेर्न अनि घुम्न लायकका विषयहरू रहेको जानकारी गराए।

उनले राजभवन परिसरबाट विश्वकै तेस्रो सर्वोच्च हिम शिखर कञ्चनजङ्घाको अति नै मनमोहक दृश्व अवलोकन गर्न सकिने थप जानकारी दिए। यस अतिरिक्त यहॉं जैविक खेती र औषधीय बिरूवाहरू पनि लगाइने र यहॉं घुम्न आउने मानिसहरूले हेर्न सक्ने बताए। उनले नयॉं वर्ष 2022 को एक जनवरीदेखि राजभवन जन साधारणको निम्ति खुल्ला गरिने बताए। इच्छुक व्यक्तिहरू बिहान 10 देखि 12 बजीसम्म र दिउॅंसो 2 देखि 4 बजीसम्म राजभवन भ्रमणमा आउन सक्ने पनि उनले बताए। राजभवनमा प्रवेशको निम्ति कुनै शुल्क भुकतान गर्नु पर्ने छैन।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande