अखिल सिक्किम अनुसूचित जाति कल्याण संघको विवाद साम्य बनेको दाबी, 30 दिसम्बरमा चुनाउ
30 दिसम्बरमा चुनाउ


गान्तोक, 09 दिसम्बर (हि.स.)। अखिल सिक्किम अनुसूचित जाति कल्याण संघका सदस्यहरूबीच लामो समयदेखि चलेर आएको विवाद अन्तत: साम्य बनेको छ। सबै विवादहरू साम्य बनेपछि संघको एउटा एड्हक समिति गठन गरेर नयॉं कार्यकारी समितिको निम्ति चुनाउ आयोजन गर्ने पहल शुरू गरिएको छ। चुनाउ आयोजनलाई ध्यानमा राख्दै नारदमणि खातिको अगुवाईमा चुनाउ समिति पनि गठन गरिएको छ।

संघको एड्हक समितिका अध्यक्ष प्रकाश सुन्दासले आफुलाई एड्हक समितिको अध्यक्षको भार सुम्पिएपछि मुख्य उद्देश्य थॉंतीमा रहेको चुनाउ आयोजन गर्नु थियो भनी बताए। उनले संघको नयॉं कार्यकारी समिति गठनको निम्ति आगामी 30 दिसम्बरमा चुनाउ हुने जानकारी गराए। उनले संघका सदस्यहरूबीच अब कुनै प्रकारको विवाद अथवा मिथ्याबोध नरहेको दाबी गर्दै सबैलाई चुनाउमा सहभागी भइदिन अपील गरे। उनले प्रस्तावित चुनाउ पूर्ण रूपमा स्वतन्त्र अनि निष्पक्ष हुने आश्वासन पनि दिए।

यसैगरी, चुनाउ आयोजन समितिका अध्यक्ष नारदमणि खातीले आफुलाई सम्पिएको जिम्मेवारी स्वतन्त्र अनि निष्पक्ष भएर पालन गर्ने बताए। उनले चुनाउको निम्ति नामाङ्कन पत्र दर्ता गर्ने प्रक्रिया शुरू भइसकेको छ भन्दै चुनाउ तीनवटा पद अध्यक्ष, महासचिव र कोषाध्यक्षको निम्ति हुने बताए। उनले उम्मेदवारहरूलाई फुटेर होइन जुटेर काम गरौं भन्ने सोच लिएर अघि आउने आह्वान पनि गरे। उनले संघका सदस्यहरूबीच चलिरहेको विवाद पूर्णरूपमा साम्य बनेको पनि दाबी गरे। एक प्रश्नको जवाफमा उनले अनुसूचित जाति समुदायका सदस्यहरू सबैले बिना रोकटोक अनि भेदभाव चुनाउमा भाग लिन सक्ने स्पष्ट पारे।

समितिका प्रमुख संरक्षक जेएम मालले संघका सदस्यहरूबीच विवाद चुनाउलाई लिएर थियो र त्यो विवाद अब साम्य बनिसकेको बताए। उनले कसैलाई पनि कुनै प्रकारको भ्रममा नपरिदिने पनि अपील गरे।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande