हवल्दार सतपाल राईको निधनले क्षेत्रमा शोकको लहर, पार्थिव शरीर शुक्रबार घर आइपुग्ने
हवल्दार सतपाल राईको निधनले क्षेत्रमा शोकको लहर


दार्जीलिङ, 09 दिसम्बर (हि.स.)। सीडीएस बिपिन रावतसितै सेनाको हेलिकप्टर दुर्घटनामा शहीद भएका हवल्दार सतपाल राई पश्चिम बंगालको दार्जीलिङ जिल्ला अन्तर्गत तकदाह चियाबारीको मानेडाँड़ा, कटुसे निवासी पिता बहादुर राई र माता सन्तुमाया राईको सुपुत्र हुन्। हेलिकप्टर दुर्घटनामा परेर शहीद बनेको जानकारी उनको परिवारले भारतीय सेनाबाट पाएका थिए। हवल्दार सतपाल राईको परिवारमा आमा सन्तुमाया राई, पत्नी मन्दिरा राई, छोरा बिक्कल राई र छोरी मुस्कान राई रहेका छन्।

पतिको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उनको घर तकदाह पुगेका पत्रकारहरूलाई जानकारी गराउँदै सतपाल राईकी पत्नी मन्दिरा राईले भनिन्, 'मैले मेरो पति गुमाएँ। यो हाम्रो लागि अन्त्यन्तै दु:खको कुरा हो। मलाई सहन गर्नु धेरै गारो परिरहेको छ। तर पनि मलाई मेरो पतिप्रति गर्व छ, कारण मेरो पतिले देशको लागि बलिदान दिए।'

पत्नी मन्दिरा राईले बताए अनुसार उनले आफ्नो पतिसित अन्तिमपल्ट हिजो दुर्घटना हुनअघि बिहान 8:30 तिर बातचीत गरेका थिए। पतिले गन्तव्यमा पुगेर कल गर्छु भनेर बताएको उनले जानकारी गराइन्। पत्नी राईले सतपाल राई पहिले नै अवकाश प्राप्त गरिसकेको, तर जनरल बिपिन रावतले 2024 मा एकसाथ अवकाश लिनुपर्छ भनेकाले फर्किएको बताइन्।

हवल्दार सतपाल राईको सुपुत्र बिक्कल राई पनि भारतीय सेनामा नै कार्यरत् रहेका छन्। उनी अहिले 5/11 जीआरमा रहेको परिवार पक्षले बताएको छ। परिवार पक्षबाट जानकारी प्राप्त भए अनुसार हवल्दार सतपाल राई भद्र, मिलनसार किसिमको व्यक्ति थिए। उनी अरुलाई सहायता गर्न सदैव अघि रहने प्रकारका थिए। हवल्दार सतपाल राईको निधनले क्षेत्रमा शोकको लहर छाएको छ।

उनको पार्थिव शरीर भोलि शुक्रबार दार्जीलिङको तकदाह चियाबारीस्थित घरमा ल्याइने जानकारी प्राप्त भएको छ। सतपाल राईले आफुपछि वृद्धा आमा, पत्नी र छोरा, छोरी छोड़ी गएका छन्।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande