मुख्यमन्त्री गोलेको साथमा मन्त्री लोकनाथ शर्मा, धर्म विभागका मन्त्री सोनाम लामा, मन्त्री भिमहाङ सुब्बा, विधायक आदित्य गोले, विधायिका सुनिता गजमेर, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, सांसद इन्द्र हाङ सुब्बा, गुम्बाका प्रमुख धर्मगुरु टुल्कु साङ्गे योन्तेन ग्याछो रिन्पोछे, मुख्यमन्त्रीका सल्लाहकार रोहित राज महाराज, भक्तजन आदिहरुको उपस्थिति थियो।
स्मरण रहोस्, यसै वर्षको गत तीन मार्चको दिन पनि मुख्यमन्त्री गोलेले रिन्छेन छ्योलिङ गुम्बाको भ्रमण गरेका थिए। मुख्यमन्त्री गोलेको यो दोस्रो भ्रमण हो।
मुख्यमन्त्री प्रेससिंह गोलेले आफ्नो सम्बोधनको क्रममा विश्व शान्ति दिवस 2021 को सरकारको तर्फबाट शुभकामना व्यक्त गरे। उनले वर्तमान सरकार कुनै पनि धार्मिक स्थल गुम्बा, मन्दिर, चर्चमा जाँदा राजनीति बोकेर कहिले पनि नगएको बताए। मुख्यमन्त्रीले अघि भने, 'यो सरकार जनताको हितमा राजनीति गर्ने सरकार हो। धार्मिक स्थलमा जाँदा हामी पवित्र हृदय लिएर जान्छौं। जे काम पनि गर्छु, पवित्र मनले गर्ने व्यक्ति हुँ म। हामीले कुनै पनि धार्मिक, सामाजिक र जातीय कार्यक्रममा पार्टीको झण्डा लगाएर जाने प्रथा बन्द गरेका छौं। स्वतन्त्र रूपमा कार्यक्रममा डरमुक्त भएर अहिले सरकारी कर्मचारीहरु पनि जानु पाउँदैछन्। लथालिङ्ग भएको व्यवस्थालाई सुधार्ने काम गर्दैछौं। 25 वर्ष लथालिङ्ग परेको व्यवस्थालाई ठिक गर्न समय लाग्छ। पाँच वर्ष भित्रमा हामी सिक्किमे जनतालाई प्रोग्रेस रिपोर्ट बुझाउने छौं।'
मुख्यमन्त्री गोलेले एसकेएम सरकारले स्वास्थ्य, शिक्षा र अन्य क्षेत्रहरूमा उल्लेखनीय कार्य गरेको दाबी गर्दै 25 वर्षे पूर्व सरकारले दुई वर्षे सरकारलाई हिसाब किताब माग्न नसुहाउने बताए। उनले एसकेएम सरकार सिक्किमे जनतालाई आर्थिकरूपमा उठाउन आएको बताए। सिक्किमका बेरोजगार युवाहरूलाई स्वनिर्भर बनाउन विभिन्न स्तरबाट सहयोग भइरहेको मुख्यमन्त्रीले बताए। रिन्छेन छ्योलिङ गुम्बा रिञ्चेन्पोङ परिसरको सुन्दरीकरण र विकास पर्यटन विभागमार्फत भविष्यमा रोडम्याप रहेको उनले बताए। अर्कोतिर मुख्यमन्त्रीले रिञ्चेन्पोङ डाँडामा नोबेल पुरस्कार बिजेता विश्व प्रसिद्ध कवि स्व. रवीन्द्रनाथ टेगोरको 36 फुट अग्लो मूर्ति निर्माण गरिने घोषणा पनि गरे।
स्मरण रहोस्, कवि स्व. टेगोर सन् 1913 मा रिञ्चेन्पोङ पीडब्ल्यूडी डाकबंग्लामा बसेर उनले रचनाहरु लेखेका थिए। स्व. टेगोरको सम्मान र सम्झानामा उक्त ठाउँमा मूर्ति निर्माण गर्नुपर्ने माग समय-समयमा उठ्ने गरेको छ। जनताको मागलाई केन्द्र गर्दै स्व. टेगोरको मूर्ति र रिन्छेन छ्योलिङ गुम्बा परिसरलाई भविष्यमा 31 करोड रुपियाँको लागतमा विकास गरिने मुख्यमन्त्रीले घोषणा गरे। यसरी नै देन्ताम बजार नजिक अवस्थित सिङ्सोर पुललाई 15औं वित्तीय आयोगबाट 85 करोड रुपियाँको लागतबाट ग्लासयुक्त पुल निर्माण गरिने पनि उनले बताए। उनले सिक्किमको सबै निर्वाचन क्षेत्रको समान विकास गर्न सरकार प्रतिबद्धता रहेको बताए।
गुम्बाका प्रमुख धर्मगुरु परमपुज्य टुल्कु साङ्गे योन्तेन ग्याछो रिन्पोछेले 6 वर्ष अघि 21 सेप्टेम्बर, 2015 को दिन उक्त गुम्बामा धार्मिक कार्यक्रमबीच गुम्बा र मूर्तिहरुको प्राण प्रतिष्ठा अनुष्ठान सम्पन्न गरेका थिए। त्यस पश्चात् रिन्छेन छ्योलिङ गुम्बाले प्राण प्रतिष्ठा अनुष्ठानको वर्षगाठ प्रतिवर्ष 21 सेप्टेम्बरको दिन पालन गर्दै आइरहेको छ। आज अन्तरराष्ट्रिय शान्ति दिवस पनि हो। यी विविध कुरालाई केन्द्र गर्दै 19 सेप्टेम्बरदेखि तीन दिवसीय विश्व शान्ति पूजा रिन्छेन छ्योलिङ गुम्बा रिञ्चेन्पोङमा आरम्भ भएको थियो।
उल्लेख्य, रिन्छेन छ्योलिङ गुम्बा रिञ्चेन्पोङको स्थापना सन् 1996 मा भएको हो। वर्तमानमा गुम्बालाई ट्रस्टमार्फत सञ्चालन गरिँदैछ। गुम्बाको पूर्वाधार विकास र निर्माणमा राज्य सरकारसँगै गुम्बासँग आबद्ध सदस्य साथ-साथै धेरै धर्म अनुयायीहरु सहयोग पुर्याएका छन्। कार्यक्रममा मुख्यमन्त्री गोलेलाई धर्मगुरु टुल्कु साङ्गे योन्तेन ग्याछो रिम्पोछेको बहूलीबाट गुम्बा समितिले अभिनन्दन जनायो। यसरी नै मुख्यमन्त्रीलाई गुम्बा समिति मानेबुङ-देन्ताम, रोधी घर छुबा पर्बिङ र गुम्बा समिति तिङ्लेले पनि अभिनन्दन जनाए।
मुख्यमन्त्री पीएस गोलेले रिन्छेन छ्योलिङ गुम्बा रिञ्चेन्पोङलाई सरकारको तर्फबाट पचास लाख रुपियाँ कार्यक्रममा प्रदान गरे। यसरी नै टुल्कु साङ्गे ग्याछो रिम्पोछेको परिकल्पनामा पश्चिम सिक्किमको देन्ताम बजार नजिक माङ्मुमा निर्माण हुनगइरहेको गुम्बाको नाम 'गुरु पद्मसम्भव बौद्ध शिक्षा अध्ययन एवं ध्यान केन्द्र' रूपमा चिनिने पनि मुख्यमन्त्रीले घोषणा गरे। भविष्यमा उक्त केन्द्र पनि सरकारले धनराशि छुट्याएर निर्माण गर्ने बताए। यस धार्मिक स्थल निर्माणको निम्ति भूमिदान सेवानिवृत्त एसीएफ गजेन्द्र सिंह गुरुङले गरेका हुन्। जमीनदाता गुरुङलाई पनि सराहनीय कार्यको निम्ति कार्यक्रममा सम्मान जनाइयो।
कार्यक्रममा धर्म विभागका मन्त्री सोनाम लामा, क्षेत्र विधायक एवं मन्त्री लोकनाथ शर्मा, सिक्किम मेडिसिन प्लान्ट बोर्डका अध्यक्ष महेन्द्र गुरुङ र गुम्बा समितिका अध्यक्ष प्रवीण गुरुङले सम्बोधन गरेका थिए।
हिन्दुस्थान समाचार/सरोज