विधायक डीआर थापाद्वारा सिक्किम र दार्जीलिङ विलय विषय प्रकाशित समाचारको खण्डन
डीआर थापा


गान्तोक, 22 सेप्टेम्बर (हि.स.)। अप्पर बुर्तुक निर्वाचन क्षेत्रका भाजपा विधायक डीआर थापाले एउटा राष्ट्रिय हिन्दी दैनिकमा प्रकाशित समाचारको खण्डन गर्दै उक्त समाचार पत्रले मनगढ़न्त समाचार प्रकाशित गरेको बताएका छन्। उनले उक्त समाचार पत्रमा भारतीय जनता पार्टी, सिक्किमका कतिपय विधायकहरूले केन्द्रिय गृह मन्त्री अमित शाहसॅंग भेट गरेर सिक्किम र दार्जीलिङ विलयको विषयमा चर्चा गरेको कुरा उल्लेख गरिएको अवगत गराएका छन्। विधायक थापाले राष्ट्रिय प्रतिष्ठा भएको समाचार पत्रद्वारा यस्तो मनगढ़न्त समाचार प्रकाशित गर्नु दुर्भाग्यपूर्ण रहेको कुरा आज जारी आफ्नो प्रेस विज्ञप्तिमा बताएका छन्।

उनले केही निहित स्वार्थ भएका मानिसहरूले सिक्किम र दार्जीलिङको विलयको सम्भावनाबारे कुरा गरिरहेको बताएका छन्। यस्तो चर्चा चलिरहेको भए तापनि सिक्किममा अहिलेसम्म कुनै पनि राजनीतिक पार्टी अथवा समूहले यो विचारलाई ध्यान नदिएको उनले बताएका छन्। यसको साटो सिक्किमका राजनीतिक दलहरू र नागरिक समाजका सदस्यहरूले यो अव्यावहारिक विचारको कड़ारूपमा विरोध जनारहेको उनले जानकारी गराएका छन्।

विधायक थापाले सिक्किमका भाजपा विधायकहरू र केन्द्रिय गृह मन्त्रीबीच यस सम्बन्धमा पहिले अथवा वर्तमानमा कहिल्यै पनि कुनै बैठक नभएको स्पष्ट गरेका छन्। उनले यस्तो कुनै पनि बैठक भएको समाचारको खण्डन गर्दै उक्त समचार पत्रद्वारा गरिएको लापरवाही पत्रकारिताको तीव्ररूपमा भर्त्सना जनाएका छन्। उनले यस्तो गैर जिम्मेवार पत्रकारिताका कारण सिक्किम जस्तो शान्त राज्यमा भ्रम र अराजकता फैलिन सक्ने बताएका छन्।

विधायक थापाले केन्द्रिय गृह मन्त्री अमित शाहले बारम्बार धारा 371एफ को सुरक्षाको पक्षमा आश्वासन दिॅंदै आइरहेको पनि बताएका छन्। उत्तर पूर्वमा भाजपा सरकारहरूले समग्र विकास, स्थानीय जनताको सशक्तिकरण, स्थानीय जन भावना, संस्कृति र लोकाचारको सम्मानमा ध्यान केन्द्रित गरेर काम गरिरहेको उनले बताएका छन्।

अर्कोतिर, उनले सिक्किमवासीहरूले गोर्खाल्याण्ड आन्दोलनप्रति शुरूदेखि नै ऐक्यबद्धता प्रकट गर्दै आएको बताएका छन्। तर, कतिपय निहित स्वार्थ भएका मानिसहरूद्वारा रणनीतिक रूपमा सिक्किमलाई यस परिदृश्यमा प्रत्यक्ष अनि विवादास्पद रूपमा सामेल गर्ने कार्यले केवल अशान्ति र असामंजस्यको स्थिति उत्पन्न हुने उनले उल्लेख गरेका छन्। उनले सम्पूर्ण भाजपा विधायकहरूको पक्षमा राज्यको शान्ति र स्थिरताका साथै देशको सुरक्षालाई खतरा हुने जाली समाचारको खण्डन गरेका छन्।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande