हामी पहाड़ परिवर्तन गर्न निस्केका हौं, हामीले त्याग गर्नै पर्छ: अनित थापा
हामी पहाड़ परिवर्तन गर्न निस्केका हौं, हामीले त्याग गर्नै पर्छ: अनित थापा


खरसाङ, 22 सेप्टेम्बर (हि.स.)। 'हामी पहाड़ बनाउन निस्केका हौं, हिरो बन्न निस्केका होइनौं। हामी पहाड़ बनाउने अभियानमा लागेका छौ र हामी एउटै परिवार जस्तो भएर कार्य गर्नुपर्छ', उक्त कुरा आज खरसाङमा भएको भारतीय गोर्खा प्रजातान्त्रिक नारी शक्तिको केन्द्रिय कमिटिको सभामा पार्टी अध्यक्ष अनित थापाले भनेका हुन्। उनले एउटा नारीले गरेको कामलाई अर्को नारीले बुझेन भने नारी शक्ति अघि बढ़न सक्दैन भन्दै हामी बिग्रेको अवस्थालाई सुधार्न निस्केका हौं र यसको लागि हामीलाई अझ धेरै शिक्षित अभिभावकहरूको आवश्यकता पर्छ भनी बताए।

थापाले नारी शक्तिको अभिभावक फोरम बनाउने पनि सुझाउ राखे। उनले भने, 'राम्रो काम गर्न गाह्रो हुन्छ। राम्रो काम गर्दा हिलो छेप्ने कार्य हुन्छ। विरोध हुन्छ, तर हामी लगातार रुपमा अघि बढ्नु पर्छ।' उनले शिक्षित नारी शक्तिको समूहलाई सम्बोधन गर्दै समाज सुधारको लागि कार्य गर्नु गाह्रो हुन्छ भन्दै हामीले अभिभावक र शिक्षित व्यक्तिहरूलाई साथ दिनुपर्छ, उनीहरूको कुरा सुन्नुपर्छ, सल्लाहहरू मान्नुपर्छ भनी बताए।

उनले अझ भने, 'राजनैतिक नेताहरूप्रति जनताको विश्वास टुटिसकेको छ। अहिले लिडरहरू नै बेकारी भएका छन्। अब हामीलाई सिस्टममा चल्नलाई अभिभावक चाहिन्छ, शिक्षित व्यक्तिहरू चाहिन्छ। नारी शक्तिको पूर्णाङ केन्द्रिय पूर्णांङ् कमिटी गठन सभालाई सम्बोधन उनले भने, 'हामी पहाड़ परिवर्तन गर्न निस्केका हौं। यसको लागि हामीले केही न केही त्याग गर्नै पर्छ। अहिले हाम्रो कार्यकर्ताहरूलाई पद चाहिन्छ, तर म कोही असल र शिक्षित व्यक्तिले अध्यक्षको रुपमा बस्न चाहे चौकी छोड्न तयार छु, कारण मलाई चौकी र सत्ताको लोभ छैन।' थापाले अब नारी शक्तिले केन्द्रिय समिति गठनपछि महकुमा स्तरीय कमिटीहरू गठन गर्न कार्य गर्नुपर्छ भन्दै अब सबै शिक्षित र वरिष्ठ व्यक्तिहरूलाई नारी शक्तिको रुपमा अभिभावकवर्ग र सल्लाहकारको रुपमा राख्नु पर्छ भन्ने सुझाउ राखे।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande