खेलकुद गतिविधिहरूलाई प्रोत्साहित गर्न 'फिट फर् लाइफ' आयोजन गरिने
 'फिट फर् लाइफ'


गान्तोक, 22 सेप्टेम्बर (हि.स.)। डिजिटल मिडिया इस्ट मोजोले फुटसल एसोसिएशन अफ् सिक्किमको सहयोगमा उत्तर पूर्व भारतमै सबैभन्दा ठूलो अनलाइन फिटनेस कार्यक्रम 'फिट फर् लाइफ' आयोजन गरिरहेको छ। यस कार्यक्रमको आयोजना उत्तर पूर्वका मानिसहरूमा फिटनेस र खेलकुद गतिविधिलाई प्रोत्साहित गर्ने उद्देश्यले गरिएको जानकारी फुटसल एसोसिएशन अफ् सिक्किमका अध्यक्ष डा. रेमन छेत्री, महासचिव डा. बिनय उप्रेती र कार्यकारी सदस्य कर्मा डाडूलले आज आयोजित एक संवाददाता सम्मेलनमा दिए।

यस कार्यक्रममा भाग लिन इच्छुक मानिसहरूले फिटनेस गतिविधिहरू जस्तै स्वीमिङ, वेटलिफ्टिङ, क्रस ट्रेनिङ, योग, किक् बक्सिङ, फुटबल आदि सम्बन्धी भिडियो बनाएर आफ्नो फेसबुक अथवा इन्स्टाग्राममा पोस्ट गर्नु पर्नेछ। भिडियोमा इस्ट मोजोलाई ट्याग गर्दै #फिटफरलाइफ लेख्नु पर्नेछ। यसपछि, eastmojo.com/fitforlife मा पञ्जीकरण गर्नु पर्नेछ। कार्यक्रम आयोजन दलले लाइक्स, कमेट्स अनि शेयरको आधारमा उत्कष्ट 15 वटा भिडियोलाई चयन गर्नेछ। भिडियो लगभग दुई मिनटको हुनु पर्नेछ।

उक्त 15 वटा भिडियो इस्ट मोजोले आफ्नो आधिकारिक फेसबुक र इन्स्टाग्राममा पोस्ट गरेर भोटिङको निम्ति 72 घण्टा राख्नेछ। पब्लिक भोटिङ र निर्णायकहरूको 50-50 प्रतिशत अंकको आधारमा विजेताको नाम चयन गरिने छ। विजेताको नाम अक्टोबर महिनाको पहिलो साता घोषणा गरिने छ। इच्छुक व्यक्तिहरूले 2 अक्टोबरसम्म पञ्जीकरण गर्न सक्नेछन्। विजेताले 15 हजार नगदसहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपविजेताले 10 हजार नगद र प्रमाण पत्र प्राप्त गर्नेछ।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande