गान्तोक, 26 जनवरी (हि.स.)। देशको सबैभन्दा प्रतिष्ठित पद्म पुरस्कारहरूको निम्ति हिजो मंगलवार गृह मामिला मन्त्रालयले 128 जनाको नाम घोषणा गऱ्यो। सिक्किमका वरिष्ठ चित्रकार खाण्डु वाङचुक भोटियालाई पनि पद्मश्री पुरस्कारको निम्ति चयनित गरिएको छ। थाङ्का चित्रकलाको संरक्षण एवं संर्वधनको क्षेत्रमा उल्लेखनीय योगदान दिएकोमा भोटियालाई देशकै चौथो सर्वोच्च नागरिक सम्मान पद्मश्रीले सम्मानित गर्ने निर्णय लिइएको हो।
खाण्डु वाङचुक भोटियाको जन्म स्व. जिग्मी वाङचुक लामा (डुङजिन रिम्पोछे) को घरमा भएको थियो। डुङजिन रिम्पोछेले पेमायाङत्से गुम्पामा साङदोपालरी संरचना बनाएका हुन्। पश्चिम सिक्किमको साक्योङ निवासी 65 वर्षीय भोटियाले आफ्नो औपचारिक शिक्षा पेलिङ सरकारी उच्चतर माध्यमिक विद्यालय र नाम्ची उच्चतर माध्यमिक विद्यालयबाट शिक्षा ग्रहण गरेका हुन्। आफ्नो औपचारिक शिक्षापछि उनले पेमायाङत्से गुम्पामा भिक्षुको जीवन बिताए। गुम्पामा प्रवेश गरेपछि नै उनले थाङ्का चित्रकलालाई आफ्नो पेशा बनाएका हुन्।
उनले डुङजिन रिम्पोछे र स्व. जिग्मी वाङचुक लामाका साथै प्रसिद्ध थाङ्का चित्रकार स्व. फुन्त्सोक साङपो र स्व. जापा आछोको देखरेख थाङ्का चित्रकलामा महारात हासिल गरे। खाण्डुलाई थाङ्का चित्रकलामा सराहनीय कार्यका लागि धेरै प्रतिष्ठित पुरस्कारहरूले सम्मानित गरिएको छ। वर्ष 1981 मा उनले राष्ट्रिय पुरस्कार (हस्तशिल्प) प्राप्त गरेका थिए। यसैगरी, वर्ष 2001 मा फ्रेण्डशिप फोरम अफ् इण्डियाले भारत एक्सिलेन्स, वर्ष 2006 मा हरियाणाको सुरजकुण्ड मेलामा कला निधिले सम्मानित भइसकेका छन्।
हालमा उनी दक्षिण सिक्किमको नाम्चीस्थित आले डॉंड़ामा बस्दै आएका छन्। उनी वर्ष 1982 मा पञ्जीकृत कञ्चनजङ्गा हस्तशिल्प केन्द्रका स्वामी पनि हुन्। उनले थाङ्का चित्रकला, काष्ठकला र कार्पेट बुनाई जस्ता विधामा अहिलेसम्म सिक्किमका 350 भन्दा धेरैलाई प्रशिक्षित गरिसकेका छन्। उनका प्रमुख विद्यार्थीहरूमा पेलिङ निवासी येस्से जाङ्गपो भोटिया पनि हुन्, जसले 2008 मा राष्ट्रिय पुरस्कार जितेका थिए।
चित्रकार खाण्डुले देश तथा विदेशहरूमा विभिन्न सम्मेलन र प्रदर्शनीहरूमा पनि भाग लिएका छन्। उनले 2004 मा दिल्लीको इण्डिया इन्टरनेशनल ट्रेड फेयर, 2006 मा हरियाणाको सुरजकुण्ड मेला, मेड इन नर्थइस्ट फेयर, 2010 मा ब्याङकक् थाइल्याण्ड र 2014 मा साउदी अरबियाको जेद्दाहमा जेद्दाह इन्टरनेशनल ट्रेड फेयर सामेल छन्।
उनका केही उल्लेखनीय कार्यहरूमा पेलिङको पेमायाङत्से गुम्पामा बौद्ध भित्तिचित्रहरू, नाम्चीको बुमटार तामाङ गुम्पा, नाम्चीकै पुरानो नादक गुम्पा, नयॉं नादक गुम्पा, राभाङलाको आले गुम्पा र खेचीपेरीको टाशी छोइलिङ गुम्पा सामेल छन्।
खाण्डुले द्मश्री पुरस्कारको निम्ति चयनित बनेकोमा हर्ष व्यक्त गर्दै आफुलाई फोनद्वारा यस बारे जानकारी दिइएको र यो खबर सुनेपछि धेरै खुशी लागेको बताएका छन्।
हिन्दुस्थान समाचार/बिशाल