Custom Heading

कथाकार युवा बराललाई तुलसी 'कश्यप' स्मृति पुरस्कार 2022 प्रदान गरिने
कथाकार युवा बराललाई तुलसी 'कश्यप' स्मृति पुरस्कार 2022 प्रदान गरिने


गान्तोक, 28 जनवरी (हि.स.)। तुलसीराम शर्मा ‘कश्यप’ प्रतिष्ठान, सिक्किमद्वारा प्रत्येक वर्ष प्रदान गरिने तुलसी ‘कश्यप’ स्मृति पुरस्कार यो वर्ष निर्णायक मण्डलीले दिएको मतानुसार कथाकार युवा बरालको कथा सङ्ग्रह “छिचिमिरा” -लाई प्रदान गरिने प्रतिष्ठानले निर्णय गरेको छ। नेपाली साहित्यमा कथाकारका रूपमा उपस्थिति दिँदै आएका युवा कथाकार युवा बरालले नेपाली साहित्यमा कविता र कथाका क्षेत्रमा अहिलेसम्म चारवटा पुस्तक अर्पण गरेका छन्। कथाकार युवा बरालको “छिचिमिरा” सन् 2018 मा मेन्यस्क्रिप्ट पब्लिकेशन, मेट्रो पोइन्ट गान्तोकले प्रकाशन गरेको हो जसमा जम्मा 17 वटा कथा सङ्ग्रहित छन्।

युवा बराललाई आगामी 83औँ तुलसी ‘कश्यप’ जयन्तीका दिन तुलसीराम शर्मा ‘कश्यप’ प्रतिष्ठान, सिक्किम र नेपाली साहित्य परिषद, सिक्किमको आयोजनामा हुने कार्यक्रममा यो पुरस्कार प्रदान गरिने जानकारी प्रतिष्ठानले विज्ञप्तिमा बताएको छ। पुरस्कार स्वरूप नगद रू. 51,000, स्मृति-चिन्ह र सम्मान-पत्र प्रदान गरिने बताइएको छ।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande