सिटोङः फुटबल फाइनल साथै विभिन्न क्षेत्रहरूमा योगदान दिने व्यक्तिहरूलाई सम्बर्द्धना
सिटोङः फुटबल फाइनल साथै विभिन्न क्षेत्रहरूमा योगदान दिने व्यक्तिहरूलाई सम्बर्द्धना


खरसाङ, 03 अक्टोबर (हि.स.)। खरसाङ महकुमा अन्तर्गत सिटोङ एक ग्राम पञ्चायतको डायरी गाउँ नव युथ क्लब स्थापनाको पच्चीसौँ वर्ष पूर्ण भएको अवसरमा स्थानीय डायरी गाउँ जनमैदानमा गान्धी जयन्ती एवं गान्धी स्मारक नक-आउट फुटबल टुर्नामेन्टको फाइनल खेल साथै सम्वर्द्धना कार्यक्रम सम्पन्न भयो।

डायरी गाउँ प्राथमिक पाठशालाका पूर्व शिक्षक केबी बुढाथोकी अध्यक्षतामा सम्पन्न कार्यक्रममा डायरी गाउँ नव युथ क्लबका संस्थापक सदस्यका परिवार, वर्तमान सदस्यका परिवार, क्लबलाई सहयोग गरिआउने शुभचिन्तकगण, सामाजिक, खेलकुद आदि क्षेत्रमा निरन्तर योगदान पुऱ्याउने व्यक्ति, व्यक्तित्वहरूलाई स्मृति चिन्ह प्रदान गर्दै सम्मान गरियो।

यसै गरी, समाजसेवी रमेश थापा, लघु उद्योग ब्रह्मधन गौशालाका निर्देशक ब्रह्मलाल शर्मा, क्याम प्रोडक्सनका निदेशक एवं सङ्गीतकार गायक किशोर राई, युवा सामाजिक कार्यकर्ता नितेश छेत्री, क्लबका कर्मठ सदस्य एवम् डायरी गाउँ जनमैदानका जमीन दाता जानिमा लेप्चा, क्लबका कर्मठ सदस्य सुसेन लेप्चा, पूर्व फुटबल खेलाडी एवम् कोच जलदीप राई, क्लबका संस्थापक सभापति स्व. एलएम राईकी धर्मपत्नी जयमती राई, फुटबल खेलाडी स्वर्णिम आचार्य आदिलाई विशेष सम्मान गर्दै स्मृति चिन्ह प्रदान गरियो।

यसै क्रममा शैक्षिक क्षेत्रमा लामो समयदेखि योगदान पुऱ्याएर अवकाशप्राप्त जीवन बिताइरहेका पूर्व प्रधान अध्यापक, डायरी गाउँ प्राथमिक पाठशाला डोनाल्ड सादा, समाजसेवी एवं पर्यटन व्यवसायी विक्रम राई, लोक गायक नरबहादुर गुरुङ, साहित्य स्रष्टा सन्ध्या आचार्यलाई क्रमैले शैक्षिक, सामाजिक, साङ्गीतिक अनि साहित्यिक योगदानको निम्ति सम्वर्ध्दनासहित अभिनन्दन जनाइयो।

यसै कार्यक्रमको अवसरमा सिटोङ ट्राइबल जुनियर हाई स्कूलको तर्फबाट स्थानीय पूर्व फुटबल खेलाडीहरू जलदीप राई, जगत आचार्य अनि सञ्जय छेत्रीलाई पनि प्रशस्ति पत्रले सम्मान गरिएको थियो।

अर्कोतिर, जम्मा 48 दलले भाग लिएको गान्धी स्मारक नक-आउट फुटबल टुर्नामेन्टको फाइनल खेल फोर स्टार बर्दर्स आरएल रोङचोङ अनि गोर्खा बोइजमाझ सम्पन्न भयो। खुबै रोमाञ्चक खेलमा गोर्खा बोइजले 1 को विरुद्ध 2 गोल गरी विजेता ट्रफीसहित नगद राशी हात पार्न सफल बन्यो।

फोर स्टार ब्रदर्स आरएल रोङचोङका खेलाडी सागर ठटाल आजको खेलमा सर्वोत्कृष्ट खेलाडी चयन भए। टुर्नामेन्ट अवधि सर्वाधिक गोल गर्ने खेलाडी गोर्खा बोइजका विनम मगर साथै टुर्नामेन्टको अवधिभरि उत्कृष्ट प्रदर्शन गर्ने रोङचोङ दलका खेलाडी किरण के. धिमाललाई क्रमैले ट्रफी अनि नगद इनाम प्रदान गरियो।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande