एक दिने पञ्चायत अध्यक्ष बनेकी जेसिका राईले पारित गरिन् चारवटा महत्वपूर्ण प्रस्ताव
एक दिने पञ्चायत अध्यक्ष बनेकी जेसिका राईले पारित गरिन् चारवटा महत्वपूर्ण प्रस्ताव


गान्तोक, 20 सेप्टेम्बर (हि.स.)। कक्षा सातमा पढ्दै गरेकी 12 वर्षिया सुश्री जेसिक राईले 25 लुङचोक कमेरे ग्राम पञ्चायत एकाईलाई प्रतिनिधित्व गर्दै एक दिने पञ्चायत अध्यक्ष बनेर इतिहास रचेकी छन्। उनले आफ्नो एक दिने कार्यकालमा बाल बालिकाहरूको निम्ति महत्वपूर्ण चारवटा प्रस्तावलाई पारित गर्दै चालू वित्तीय वर्षमा ग्राम पञ्चायत एकाईमा ती प्रस्तावहरूलाई पूर्ण गराउन अनुमदोन गरेकी छन्।

सुन्दा र भन्दा सिनेमा र नाटकमा जस्तो लाग्ने यो सत्य भने दक्षिण सिक्किमको मल्ली निर्वाचन क्षेत्रको लुङचोक केमेरे ग्राम पञ्चायत एकाईले देशमा अभिनव पहलको रूपमा शुरु गरेको एक दिने बाल पञ्चायत अध्यक्षको चयनमा यस्तो निर्णय गर्ने अनुमति दिएपछि नै सुश्री राईले आफ्नो बाल पञ्चायत सदस्य र स्थानीय विधायक, पञ्चायत सदस्यगण तथा सहपाठी विद्यार्थीहरूको उपस्थिमा बाल बालिकाहरूको निम्ति ग्राम पञ्चायत एकाईले गर्नुपर्ने कार्यहरूको प्रस्तावलाई ग्रहण गराएर अनुमोदन गराएकी छन्।

वर्ष 2021 सालदेखि ग्राम पञ्चायत एकाईले एक दिने पञ्चायत अध्यक्ष चयन गर्ने अभिनव पहल शुरु गरेको हो। यसमा पहिलो बाल पञ्चायत अध्यक्ष प्रियङ्का राई बनेकी थिइन् भने दोस्रो अध्यक्षको रूपमा जेशिका राईलाई चयन गरिएको छ। उनलाई ग्राम पञ्चायत एकाईले शुरु गरेको “उज्ज्वल भोलिको निम्ति बालिका सशक्तिकरण” कार्यक्रम अन्तर्गत लुङचोक कमेरे ग्राम पञ्चायत एकाईको एक दिने अध्यक्ष मनोनित गरिएको हो।

उनले यहाँ सम्म आउनलाई पनि बाल संसदमा प्रधानमन्त्री बनेर नेतृत्व दिनका साथै अन्य विभिन्न पडावहरूलाई पार गरेर आएकी थिइन्। पञ्चायत अध्यक्ष देवराज राईले पद र गोपनियताको शपथ ग्रहण गराएपछि उनले बिहान 11 बजीदेखि दिउँसो 3 बजीसम्मको कार्यकाल पुरा गर्दै चारवटा महत्वपूर्ण प्रस्तावलाई अनुमोदन गरिन् भने बाल सभालाई सफलतापूर्वक सञ्चालन गरिन्।

19 सितम्बरको दिन सम्पन्न एक दिने पञ्चायत अध्यक्ष चयन कार्यक्रममा मुख्य अतिथिको रूपमा क्षेत्र विधायक फरवन्ती तामाङ उपस्थित थिइन्। उनले आफ्नो सम्बोधनमा पञ्चायत एकाईले विशेष रूपमा बालिकाहरूलाई सशक्तिकरणको निम्ति पहल गरेकोमा बधाई दिँदै यस्ता कार्यहरू सबै सिक्किमभरिका ग्राम पञ्चायत एकाईहरूले अनुकरण गर्नुपर्ने बताइन्। उनले देशका विभिन्न महिला नेतृत्वहरूको उदाहरण प्रस्तुत गर्दै उनीहरूबाट बालिकाहरू अभिप्रेरित हुनुपर्ने बताइऩ्।

यसै गरी, एक दिने पञ्चायत अध्यक्ष कार्यक्रममा पर्यवेक्षकको रूपमा उपस्थित भूतपूर्व जिल्ला युवा संयोजक पुरण छेत्रीले आफ्नो सम्बोधनमा यो ग्राम पञ्चायत एकाईले गरेको नितान्त सराहनीय अनि छुट्टै प्रकारको कार्यक्रम रहेको बताए। उनले विद्यार्थीहरूलाई आजको एक दिने पञ्चायत अध्यक्ष जेसिका राईको व्यक्तित्व र आत्म विश्वासलाई सबै विद्यार्थीहरूले उदाहरणको रूपमा लिएर अघि बढ्ने र समाजलाई नेतृत्व दिने क्षमताको विकास गर्नुपर्ने बताए।

यसै गरी, ग्राम पञ्चायत एकाईका मौलिक अध्यक्ष देवराज राईले आफ्नो कार्यकालमा क्षेत्रमा विभिन्न अभिनव कार्य गर्ने पहल गरेको जसमध्ये एक दिने पञ्चायत अध्यक्ष चयन गर्ने कार्य पनि गरेको बताए। जसलाई राज्यका अन्य ग्राम पञ्चायत एकाईहरूले पनि अनुकरण गरेको खण्डमा देशले पनि सिक्किममा भएको कार्यको जानकारी पाउने र देशमा पनि यसको प्रभाव पर्ने उनले विचार व्यक्त गरे। उनले ग्राम पञ्चायत एकाईलाई बाल मैत्री, भिन्न रूपमा सक्षम मैत्री, महिला सशक्तिकरण, वृद्धाहरूको निम्ति मनोरञ्जनशाला, युवाहरूको निम्ति व्यामशाला र नानीहरूको निम्ति मोडल आईसीडीएस निर्माण गर्ने कार्य गरेको जस्तै यो पनि एउटा प्रयासको रूपमा थालिएको पहल भनि बताए।

योपाली एक दिने पञ्चायत अध्यक्ष बनेकी जेसिका राई एक निम्नवर्ग परिवारकी छोरी रहेकी, तर उनमा भएको असाधरण नेतृत्व क्षमतालाई हेरेर यो गरिमामय पदमा चयन गरिएको उनले बताए। ग्राम पञ्चायत एकाईले निरन्तर रूपमा बालिकाहरूको सशक्तिकरणलाई ध्यानमा राखेर यस्ता कार्यहरू गर्दै आएको पनि उनले अवगत गराए।

पञ्चायत अध्यक्ष जेसिका राईको नेतृत्वमा बनेको एक दिने पञ्चायतको बाल सभाले चारवटा प्रस्तावलाई अनुमोदन गरि आउँदो वित्तीय वर्षमा पुरा गराउने निर्णय गरेको छ। जसमा बाल मेला आयोजन गर्ने, बाल-बालिकाहरूको निम्ति ग्रामीण खेलकूद, बाल अधिकारबारे संगोष्ठी र क्षमता विकास कार्यक्रम आयोजन गर्ने निर्णय सामेल छन्।

उल्लेखनीय छ, देशका विभिन्न राज्यहरूमा एक दिने जिल्लापाल बनाइएको उदाहरण भए पनि एक दिने पञ्चायत अध्यक्ष बनाउने राज्य भने सिक्किम पहिलो रहेको छ। जसको चर्चा देशमा चलिरहेको छ भने यसलाई सिक्किम राज्यले सबै ग्राम पञ्चायत एकाईमा पुऱ्याउन सके यसको प्रभावले राष्ट्रिय अभियानको रूप लिनसक्ने निश्चित छ।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande