साढ़े तीन वर्षमा पनि सड़कको गुणस्तर अनि रखरखाउमा कुनै भिन्नता नदेखिनु दुर्भाग्यपूर्णः डीबी चौहान
साढ़े तीन वर्षमा पनि सड़कको गुणस्तर अनि रखरखाउमा कुनै भिन्नता नदेखिनु दुर्भाग्यपूर्णः डीबी चौहान


गान्तोक, 22 सेप्टेम्बर (हि.स.)। वर्तमानमा सिक्किम राज्यमा विकासको मेरूदण्ड मानिने सड़कहरूको दुरावस्थालाई लिएर निकै चर्चा चलिरहेको छ। चाहे त्यो राष्ट्रिय राजमार्ग होस्, राज्य सरकार अधीन सड़क होस् वा ग्रामीण सड़क, सबै सड़कहरूको अवस्था अहिले कहालीलाग्दो बनेको छ।

वर्षायामको कारण कतिपय समस्याहरू भोग्नुपरेको स्थिति एकापट्टि छ भने उचित रखरखाउको अभावले राज्यका सड़कहरू दिनदिनै जीर्ण बनिरहेको कसैको नजरबाट लुकेको छैन। राज्य सरकारको सड़क तथा पूल विभाग अनि राष्ट्रिय राजमार्गहरूको निर्माण तथा रखरखाउको जिम्मा लिएको एनएचआईडीसीएल होस्, हजारौं करोड़ खर्च गरेर पनि सिक्किमको सड़क सम्पर्कलाई आशाअनुरूप विकसित गर्न सकिरहेको छैन।

विशेष गरेर सिक्किमलाई देशको अन्य भागसित जोड्ने एकमात्र राष्ट्रिय राजमार्ग 10 को जीर्ण अवस्थाले आम मानिसहरूले दिनदिनै कष्ट भोग्नुपरिरहेको छ। सिलगढ़ीदेखि गान्तोक आउने राजमार्गमा यात्रा गर्दा अहिले कम्तिमा पनि 5 घण्टाभन्दा अधिक समय लाग्ने गरेको छ।

पैह्रो प्रभावित क्षेत्रहरूको व्यवस्थापनमा पनि सही रणनीति नभएको कारण केही घण्टाको वर्षाले छताछुल्ल बनाइरहेको छ भने यसबारे राज्य सरकारले अहिलेसम्म कुनै ठोस पहल नगरेको भाजपा सिक्किमका अध्यक्ष डीबी चौहानले आरोप लगाएका छन्। एकातिर मुख्यमन्त्रीले अन्य राज्यहरूमा गएर निवेशकहरूसँग सम्मेलन गरेर सिक्किम निम्त्याइरहेका छन् भने सड़क सम्पर्कको बेहाल अवस्थाको कारण यहाँ स्थापित कल-कारखानाहरू पनि छोड़ेर जाने अवस्थामा रहेको उनले विज्ञप्तिमा बताएका छन्।

आज सिक्किमको व्यवस्था दिनहुँ घण्टौंको जाममा फसिरहेको अवस्थामा छ। यसर्थ, राज्य सरकारले चाँड़ै केन्द्र सरकारसँग वार्ता गरेर सिक्किम आउने एकमात्र राजमार्गको रखरखाउ र मसम्मति सम्बन्धी निर्णायक पहल गर्नुपर्ने भाजपा सिक्किमले माग गरेको छ।

अर्कोतिर, चौहानले राज्यको सड़क तथा पूल विभाग अधिनस्थ सड़कहरूको अवस्था झनै जीर्ण बनिसकेको बताएका छन्। विभिन्न जिल्ला मुख्यालय तथा महकुमाहरूलाई जोड्ने सड़कहरू आज रखरखाउ र मरम्मतिको नाममा केवल कमिशन र भ्रष्टाचारको प्रतीक बनेको पनि उनले आरोप लगाएका छन्। विभागमा व्याप्त भ्रष्टाचारको कारण आज सड़क रखरखाउमा गुणस्तरलाई ताकमा राखेर केवल लिपापोती गर्ने काम भइरहेको छ जसले एकातिर राज्यवासीको जीवनसित खेलवाड़ भइरहेको छ भने अर्कोतिर राज्यको अर्थतन्त्रको मेरूदण्ड़ मानिने पर्यटन व्यवसायलाई पनि धरासायी बनाइसकेको उनले बताएका छन्।

अर्कोतिर, ग्रामीण सड़कहरू पनि उचित रखरखाउको अभावमा वर्षौंदेखि मरम्मतिको प्रतीक्षामा रहेका छन्। गुणस्तर र आवश्यक मानदण्डलाई ताकमा राखेर फेयर वेदर रोडको नाममा खनिएका सड़कहरू आज लथालिङ्ग अवस्थामा छन्। यो समस्या आजको मात्र होइन विगत सरकारदेखि नै चल्दै आएका हुन् भने व्यवस्था परिवर्तनको नाममा सत्तामा आएको वर्तमान सरकारको साढ़े तीन वर्ष बितिसक्दा पनि राज्यमा सड़कको गुणस्तर अनि रखरखाउमा कुनै भिन्नता नदेखिनु सिक्किमे जनताको निम्ति बढ़ो दुर्भाग्यपूर्ण कुरा हो भनी चौहानले बताएका छन्।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande