गोरामुमोद्वारा 37औं गोर्खाल्याण्ड जनजागरण दिवस पालन
गोरामुमोद्वारा 37औं गोर्खाल्याण्ड जनजागरण दिवस पालन


दार्जीलिङ, 22 सेप्टेम्बर (हि.स.)। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका संस्थापक अध्यक्ष सुवास घिसिङले आजको दिन समस्त गोर्खा जातिको उन्मुक्तिको निम्ति टिस्टा भेल्ली सजनी डाँडामा अवस्थित दुर्गा मन्दिरमा पूजा आर्चना गरी गोर्खाल्याण्ड आन्दोलनको शंकघोष गरी गोर्खाल्याण्ड राज्य प्राप्तिको निम्ति वृहत जना अन्दोलनको शुरूवात गरेका थिए। यसै दिनलाई स्मरण गर्दै गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले यस दिनलाई गोर्खाल्याण्ड जनजागरण दिवसको रूपमा पालन गर्दै आएको छ।

गोरामुमो केन्द्रिय समिति प्रवक्ता वाई लामाले टिस्टा भेल्ली सजनी डाँडामा आज पत्रकारहरुलाई सम्बोधन गर्दै भने, गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले जाति र माटोको उन्मुक्तिको निम्ति कार्य गर्दै आइरहेको छ। अवश्य नै हामी लक्ष्यमा पुग्ने छौं र यसको निम्ति तपाईं हामी पार्टीभन्दा माथि उठेर कार्य गर्नुपर्छ। अध्यक्ष मन घिसिङले गोर्खा जातिको निम्ति निरन्तर कार्य गरिरहेका छन्। गोर्खाल्याण्ड राज्य प्राप्तिको निम्ति हामी सही मार्गमा थियौं, तर सोझै गोर्खाल्याण्ड ल्याउँछु भनेर पहाडमा जनतालाई बोरामा सुताउने कार्य गरियो।

पत्रकारहरुले सोधेका प्रश्नहरूको उत्तर दिॅंदै लामाले भने, जीटीए सभामा गोर्खाल्याण्ड प्रस्ताव राख्नु कुनै ठूलो कुरा होइन, जीटीए सभाले बंगाल विधानसभामा प्रस्ताव पारित गर्नु सक्नु पऱ्यो। बंगालकी मुख्यमन्त्रीलाई गोर्खाल्याण्ड प्रस्ताव पारित गराउनको निम्ति पत्राचार गर्नु पऱ्यो। साथै केन्द्र सरकारलाई पनि पत्राचार गर्नु पऱ्यो। अंसवैधानिक ब्यवस्था जीटीए सभामा प्रस्ताव पारित गराउँदा हुनेवाला केही छैन।

आजको कार्यक्रममा गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीका अध्यक्ष एमजे सुब्बा, उपाध्यक्ष दिनेस छेत्री, तकदाह टिस्टा भेल्ली समष्टिका अध्यक्ष सुदेश राई, गोरामुमो केन्द्रिय समिति सदस्य अमर राई, किशोर राई, लप्चु पेशोक समष्टिका अध्यक्ष छिरिङ लामा, लगायत गोरामुमो कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande