गोर्खाल्याण्डका लागि हाई पावर टीम दिल्ली र कोलकोता पठाउनु पर्ने माग
गोर्खाल्याण्डका लागि हाई पावर टीम दिल्ली र कोलकोता पठाउनु पर्ने माग


दार्जीलिङ, 22 सेप्टेम्बर (हि.स.)। गोर्खाल्याण्डका लागि हाई पावर टोली शीघ्र दिल्ली र कोलकोता पठाउनु पर्ने माग गर्दै हाम्रो पार्टीका अध्यक्ष अजय एडवर्डले जीटीए चिफ् एक्जीक्युटिभ अनित थापालाई पत्र लेखेका छन्।

गत 19 सेप्टेम्बरको दिन सम्पन्न भएको जीटीए सभामा गोर्खाल्याण्डको प्रस्ताव पारित गर्ने कार्य भएपछि हाम्रो पार्टी अध्यक्ष एंव जीटीए सभासद अजय एडवर्ड लगायत अन्य सभासदहरूले जीटीए सभामा गोर्खाल्याण्ड प्रस्ताव पारित मात्र गरेर हुँदैन, तर पारित गरिएको उक्त प्रस्ताव प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रिय गृहमन्त्री अमित शाह, भाजपाको राष्ट्रिय अध्यक्ष जेपी नड्डा, राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई भेटेर सुम्पिनु पर्ने माग गर्दै आइरहेका छन्। यसै विषयमाथि एडवर्डले अनित थापालाई पत्राचार गरेका छन्।

एडवर्डले पत्रमा भनेका छन्, गोर्खाल्याण्ड प्रत्येक गोर्खाहरूको मुटुको ढुकढुकी हो अनि गत 19 सेप्टेम्बरको दिन सम्पन्न भएको जीटीए सभाको सभामा गोर्खाल्याण्डको प्रस्ताव पारित गरियो। गोर्खाल्याण्डको प्रस्तावलाई हामी सबै सभासदहरूले अन्तरात्माबाट समर्थन गरेका थियौं अनि छौं, तर गोर्खाल्याण्डको प्रस्ताव जीटीए सभामा मात्र पारित गरेर हुँदैन। यसलाई कार्यरूप दिनुलाई हाई पावर टोली दिल्ली र कोलकोता पठाउनु पर्नेछ अनि राष्ट्रपति, प्रधानमन्त्री, गृहमंत्री, राज्यकी मुख्यमन्त्रीलाई उक्त प्रस्तावको प्रतिलिपि सुम्पिनु पर्नेछ। उनले यस कार्यका लागि दशैं-तिहार पर्खिनु हुँदैन, अविलम्ब कदम उठाउनु पर्नेछ भनी बताएका छन्।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande