दुई किस्ता बोनसको विरोधमा हिल जोइण्ट फोरम सडकमा उत्रिने
दुई किस्ता बोनसको विरोधमा हिल जोइण्ट फोरम सडकमा उत्रिने


दार्जीलिङ, 22 सेप्टेम्बर (हि.स.)। दुई किस्ता पूजा बोनसको विरोधमा हिल जोइण्ट फोरमले 25 सेप्टेम्बरको दिन भावी कार्यक्रमको खुलासा गर्ने भएको छ। दार्जीलिङ शहरको माल रोडस्थित हाम्रो पार्टीको केन्द्रिय कार्यालयमा हिल जोइण्ट फोरमको सभा सम्पन्न भयो। सभामा पहाडका सातवटा श्रमिक संगठनका नेतृत्वहरू उपस्थित रहेका थिए।

दुई घण्टाभन्दा लामो समयसम्म चलेको बैठकपछि हिल तराई डुवर्स चियाबारी श्रमिक संघका केन्द्रिय अध्यक्ष डीके गुरूङले 21 सेप्टेम्बरको बैठकमा केही न केही खिँचडी पाक्छ भन्ने हामीलाई थाहा थियो र नै हिल जोइण्ट फोरमले उक्त बैठकमा अंश ग्रहण नगर्ने निर्णय लिएका हौं भनी बताए।

उनले भने, गत साल सिलगढीमा भएको त्रिपक्षीय बैठकमा सरकार पक्षले अब उसो पहाडको चिया श्रमिकहरूले किस्तामा पूजा बोनस पाउने छैन भनेर अधिसूचना जारी गरेको थियो। तर, हिजोको बैठकमा सरकारले जारी गरेको अधिसूचनालाई सरकारी पक्षले नै उल्लघंन गर्दै दशैंअघि 15 प्रतिशत अनि दिसम्बर महिनामा 5 प्रतिशत पूजा बोनस दिने अधिसूचना जारी गरेको छ। सरकारी पक्षबाट जारी गरिएको अधिसूचनासंग हामी हिल जोइण्ट फोरम सहमति छैनौं भनी अध्यक्ष गुरूङले बताए।

आज बसेको हिल जोइण्ट फोरमको बैठकमा सरकारद्वारा जारी गरिएको अधिसूचनासंग सहमति नभएको अनि यसको विरोधमा के कस्तो कदम चलाउनु पर्ने हो भन्ने विषयमाथि सबै श्रमिक संगठनहरूले आआफ्नो केन्द्रिय कमिटिमा चर्चा परिचर्चा गरेर 25 सेप्टेम्बरको दिन फेरि फोरमको बैठकमा भावी कार्यक्रमहरूको खुलासा गरिने अध्यक्ष गुरूङले बताए।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande