महानदीमा स्वच्छ भारत मिशन अनि फोहोर मैला प्रबन्धन विषयमा प्रशिक्षण
महानदीमा स्वच्छ भारत मिशन अनि फोहोर मैला प्रबन्धन विषयमा प्रशिक्षण


खरसाङ, 22 सेप्टेम्बर (हि.स.)। खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतको आयोजनामा महानदीको तिरसठ पाखास्थित सार्वजनिक भवनमा स्वच्छ भारत मिशन अनि फोहोर मैला प्रबन्धन विषयमा कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रमको अध्यक्षता तारानाथ शर्माले गरेका थिए भने प्रमुख अतिथिको रुपमा तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री उपस्थित थिए।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा खरसाङ खण्डका अतिरिक्त खण्ड विकास अधिकारी पेमा डोमा डुक्पा, घुम्ती चियाबारीको प्रबन्धक दिनेशकुमार सिंह, सिविटार चियाबारीका प्रबन्धक रजत थापा, गिताङ्गे चियाबारीका प्रबन्धक राकेश चौधरी, एएनएम बिशाखा छेत्री, नवराज राई, ग्राम सुधार समिति तिरसठको सुजन तामाङ, शिक्षक महेन्द्र छेत्री, शिक्षिका डोल्मु शेर्पा लगायत अन्यहरू उपस्थित रहेका थिए।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सभासद नवराज छेत्रीले स्वच्छ भारत मिशन अन्तर्गत फोहोर मैला प्रबन्धन विभागमा खरसाङमा आफ्नो सातवटा समष्टिलाई तक्निकी र आर्थिक रूपमा सहयोग गरेर अघि लाने र निर्मल समष्टि बनाउन कार्य गर्ने बताए। कार्यक्रममा स्वच्छ भारत मिशन र फोहोर मैला प्रबन्धन विषयमा जागरुकता कार्यक्रमसितै अन्तरक्रियात्मक कार्यक्रम पनि सम्पन्न गरिएको थियो। यस अवसरमा शोध व्यक्तिहरूले प्रशिक्षण प्रदान गरे। कार्यक्रममा विभिन्न सांगीतिक कार्यक्रम लगायत कविता, नाटक र विभिन्न विषयहरूमा सचेतना कार्यक्रम सम्पन्न गरियो।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande