तीनधारेमा आयोजित क्रिकेट टुर्नामेन्टको च्याम्पियन बन्यो लिंकन क्लब सिपाहीधुरा
तीनधारेमा आयोजित क्रिकेट टुर्नामेन्टको च्याम्पियन बन्यो लिंकन क्लब सिपाहीधुरा


खरसाङ, 29 जनवरी (हि.स.)। खरसाङ खण्ड अन्तर्गत तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा आयोजित क्रिकेट टुर्नामेन्टको फाइनलमा लिंकन क्लब सिपाहीधुराले नवज्योति संघ चुनभट्टीलाई 4 विकेटले पराजित गरी च्याम्पियन बनेको छ।

डाइनामिक बोइज 17 माइल, तीनधारेको तत्वावधानमा आयोजित क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज भएको फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ्ग गर्दै चुनभट्टीले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 154 रन बनाएको थियो। चुनभट्टीको पक्षमा ओपनर ब्याट्सम्यान मनोहर थापाले 50 रन र आनन्द सुनवारले 39 रन बनाए।

चुनभट्टीले दिएको 155 रनको लक्ष्यलाई खेदो गर्दै सिपाहीधुराले 6 विकेट गुमाएर 19 ओभर 1 बलमा 156 रन बनाएर 4 विकेटले म्याच जित्न सफल बन्यो। सिपाहीधुराको पक्षमा भुवन प्रधानले 49 रन अनि संगम प्रधानले 39 रन बनाए।

फाइनल खेलमा सिपाहीधुराको निम्ति 20 बलमा 39 रन साथै 2 विकेट लिने संगम प्रधानलाई म्यान अफ् द म्याच चयन गरियो। टुर्नामेन्टभरि 117 रन अनि 6 विकेट लिने 17 माइलका खेलाड़ी विशाल गजमेरलाई म्यान अफ् द सिरिज चयन गरियो।

यसैगरी, टुर्नामेन्टभरि सबैभन्दा धेरै 131 रन बनाउने चुनभट्टीका मनोहर थापालाई चयन गरियो भने सबैभन्दा धेरै 10 विकेट लिने सिपाहीधुराका अजय प्रधान चयन भएका छन्। यसै क्रममा टुर्नामेन्टमा सबैभन्दा असल क्याच लिने 17 माइलका रबीन गजमेर अनि फेयर प्ले अवार्डको निम्ति गैरी गाउँलाई चयन गरिएको छ।

आजको फाइनल खेलमा मुख्य अतिथिको रूपमा तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री उपस्थित रहेका थिए भने विशिष्ट अतिथिहरूमा सचिन रिजाल, बिजय मंगर, अञ्जान घतानी, धिराज शंकर, जितेन्द्र घतानी, सुरेन छेत्री लगायत अन्यहरू उपस्थित रहेका थिए।

विजेता दल सिपाहीधुरालाई सचिन रिजालले आफ्नी आमा स्व. अनिता गजमेरको नाममा प्रायोजित गरेको ट्रफीसहित नगदराशि प्रदान गरियो। उपविजेता दललाई पनि नगद राशिसहित ट्रफी प्रदान गरियो, जुन सुकनाका जितेन्द्र घतानीले प्रायोजित गरेका थिए। गत 15 जनवरीदेखि 16 वटा क्रिकेट टिमलाई लिएर उक्त 15 ओभरको क्रिकेट टुर्नामेन्ट शुरु भएको थियो भने फाइनलमा 20 ओभरको खेल खेलाइयो।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande