भारतले वर्ष 2014 पछि टीबीविरूद्ध नयाँ सोंच र दृष्टिकोण अन्तर्गत काम गऱ्यो: प्रधानमन्त्री मोदी
भारतले वर्ष 2014 पछि टीबीविरूद्ध नयाँ सोंच र दृष्टिकोण अन्तर्गत काम गऱ्यो: प्रधानमन्त्री मोदी


- भारतले वैश्विक लक्ष्यभन्दा पाँच वर्ष अगाड़ि वर्ष 2025 सम्ममा टीबीलाई उन्मूलन गर्ने लक्ष्यमाथि काम गरिरहेको छ: मोदी

- निक्षय मित्र अभियानले टीबी रोगीहरूलाई एउटा ठूलो चुनौतीको सामना गर्नमा धेरै सहयोग गरेको छ: मोदी

वाराणसी/नयाँ दिल्ली, 24 मार्च (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले क्षय रोग (टीबी)-विरूद्ध जनसहभागितालाई भारतको निम्ति ठूलो उपलब्धि बताउँदै भने, वर्ष 2014 पछि जसरी भारतले नयाँ सोंच र दृष्टिकोण अन्तर्गत टीबीविरूद्ध काम गर्न शुरू गऱ्यो त्यो अभूतपूर्व छ। यसलाई टीबीविरूद्ध वैश्विक लड़ाईँको एउटा नयाँ मोडल बताउँदै उनले भने, सारा दुनियाँलाई यसबारे जानकारी हुनुपर्छ।

प्रधानमन्त्री मोदीले शुक्रवार वाराणसीको रूद्राक्ष कन्भेन्शन सेन्टरमा आयोजित ‘वान वर्ल्ड टीबी समिट’ –मा आफ्नो विचार राखिरहेका थिए। उनले भने, भारतका प्रयासहरूलाई आज सारा विश्वले यसकारणले पनि जान्न जरूरी छ कि टीबीविरूद्ध वैश्विक लड़ाईँको यो एउटा नयाँ मोडल हो। उनले भने, पछिल्लो नौ वर्षमा भारतले टीबीविरूद्धको यस लड़ाईँमा अनेकौं मोर्चाहरू जस्तै जनसहभागिता, पोषणको लागि विशेष अभियान, उपचारको लागि नयाँ रणनीति, तकनिकको भरमग्दुर प्रयोग तथा सुस्वास्थलाई प्रेरित गर्ने फिट इण्डिया, खेलो इण्डिया, योग जस्ता अभियानहरूमाथि एकसाथ काम गरेको छ।

प्रधानमन्त्रीले टीबी समिटलाई आफ्नो संसदीय क्षेत्रमा आयोजना गरिएकोमा हर्ष व्यक्त गर्दै भने, मेरो लागि यो एकदमै खुशीको कुरा हो कि 'वान वर्ल्ड टीबी समिट' काशीमा आयोजना भइरहेको छ। सौभाग्यले म काशीबाट सांसद पनि हुँ। काशी नगरी शाश्वत धरा हो जुन वर्षौंदेखिको हाम्रो मानवताका प्रयास एवं परिश्रमहरूको साक्षी बन्दै आएको छ। काशीले यसको पनि साक्षी दिँदछ कि चुनौती चाहे जतिसुकै ठूलो किन नहोस् प्रयास गरियो भने नयाँ बाटो अवश्य बनिन्छ। मलाई विश्वास छ टीबी जस्तो रोगविरूद्ध हाम्रो वैश्विक संकल्पलाई काशीले नयाँ ऊर्जा दिनेछ।

टीबी रोगीहरूको पहिचान औ उपचारको लागि उठाइएका कदमहरूको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, एकजना पनि टीबी रोगी उपचारदेखि वञ्चित नहोस् यसको लागि हामीले नयाँ रणनीतिमाथि काम गऱ्यौं। टीबी रोगीहरूको स्क्रिनिंग र ट्रिटमेन्टको लागि उनीहरूलाई हामीले आयुष्मान भारत योजनासित जोड़ेका छौं। टीबीको निशुल्क जाँचको लागि देशभरि नै हामीले ल्याबहरूको संख्या बढ़ाएका छौं।

‘नि-क्षय मित्र’ पहल बारे बताउँदै उनले भने, यसबाट टीबीको चुनौतीसित लड़्नमा ठूलो मद्दत पुग्नेछ। टीबी रोगीहरूको पोषणलाई ठूलो चुनौती बताउँदै प्रधानमन्त्रीले यसलाई ध्यानमा राखेर सरकारले वर्ष 2018-मा टीबी रोगीहरूको लागि डाइरेक्ट बेनिफिट ट्रान्फरको घोषणा गरेको जानाकारी गराए। उनले टीबीमुक्त भारतको अभियानसित जोड़िनका लागि देशका मानिसहरूलाई 'नि-क्षय मित्र' बन्ने आह्वान समेत गरे। भारतले अब वर्ष 2025 सम्म टीबीलाई निर्मूल पार्ने लक्ष्य लिएर काम गरिरहेको बताउँदै उनले अघि भने, टीबीमुक्त बनाउने वैश्विक लक्षय वर्ष 2030 हो तर भारतले यसअघि नै वर्ष 2025-सम्ममा यो लक्ष्य हासिल गर्नको लागि काम गरिरहेको छ। आज देशमा टीबी रोगीहरूको संख्या घट्दै गइरहेको छ। कर्नाटक र जम्मू-कश्मीरलाई टीबीमुक्त अवार्डद्वारा सम्मानित गरिएकोमा प्रधानमन्त्रीले दुई राज्यलाई बधाई पनि दिए।

प्रधानमन्त्री मोदीले यसपूर्व रिमोर्टको बटन थिचेर टीबीमुक्त पञ्चायत पहल अतिरिक्त एक संक्षिप्त टीबी निवारक उपचार (टीपीटी)-को आधिकारिक रूपमा अखिल भारतीयस्तरमा उद्घाटन गरे। मोदीले टीबीको लागि परिवार केन्द्रित हेरचाह मोडल अनि भारतको वार्षिक टीबी रिपोर्ट-2023 जारी गर्न बाहेक विभिन्न पहलहरूको पनि उद्घाटन गरे। प्रधानमन्त्रीले टीबी उन्मूलनको दिशामा उल्लेखनीय प्रगति गर्ने कतिपय राज्य एवं केन्द्रशासित प्रदेश अनि जिल्लाहरूलाई प्रमाण-पत्र, पदक औ नगद राशि दिएर पुरस्कृत समेत गरे।

कार्यक्रममा उत्तर प्रदेशकी राज्यपाल आनन्दीबेन पटेल, मुख्यमन्त्री योगी आदित्यनाथ र केन्द्रिय स्वास्थ्य एवं परिवार कल्याण मन्त्री मनसुख माण्डभिया सहित अनेक गणमान्य व्यक्तिहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande