खरसाङ, 19 दिसम्बर (हि.स.)। तीनधारे च्यालेञ्ज कप फुटबल टुर्नामेन्ट अन्तर्गत बिहिवार भएको खेलमा नर्थ बङ्गाल वारियर्सले जलपाइगढी पुलिसलाई 4-3 को अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ।
युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएशनको तत्वावधानमा तीनधारेको मिठाईडाँडा खेल मैदानमा आयोजना भइरहेको तीनधारे च्यालेञ्ज कप फुटबल टुर्नामेन्ट अन्तर्गत आज खेलिएको खेलको पहिलो हाफमा नर्थ बङ्गाल वारियर्सको जर्सी नम्बर 10 जोय हरि बर्मनले 14औं मिनटमा गोल गरेर बढत बनाएका थिए। यस म्याचको पहिलो हाफमा नर्थ बङ्गाल वारियर्सले 3 गोल गरेको थियो भने जलपाइगढी पुलिसले 1 गोल गरेको थियो।
दोस्रो हाफको खेलमा नर्थ बङ्गाल वारियर्सले थप 1 गोल गरेर स्कोर 4 बनाएको थियो भने जलपाइगढी पुलिसले पनि दोस्रो हाफको खेलमा थप 2 गोल गरेर स्कोर 3 बनाए। यस खेलमा विजेता दलका खेलाडी जोय हरि बर्मनले दुई गोल, आशिष घोष र अनिकेत एक्काले एक-एक गोल गरे।जलपाइगढी पुलिसको तर्फबाट विशाल रोय, दिलिप सोरेन र शनि टोप्पोले एक-एक गोल गरे।
यस खेलमा दुई गोल गर्ने विजेता दलका खेलाडी जोय हरि बर्मनलाई म्यान अफ् द म्याच चयन गरियो। भोलि, शुक्रवार एसएफए र सिपाहीधुरा एथलेटिक्स क्लबमाझ भिडन्त हुने जानकारी युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएशनको तर्फबाट सुभम प्रधानले गराएका छन्।
हिन्दुस्थान समाचार / हनोक