खरसाङ, 22 दिसम्बर (हि.स.)। स्थानीय चीजबीजहरु किनबेच गर्न साथै स्थानीयहरुलाई स्वनिर्भर बनाउने उद्देश्यको साथमा खरसाङमा गत वर्ष 15 अक्टोबर, 2023 मा शुरू गरिएको खरसाङ गोर्खे हाटको प्रथम स्थापना दिवस पालन गरिएको छ। यस अवसरमा आयोजित एक कार्यक्रममा खरसाङ खण्डको पञ्चायत समिति अध्यक्ष अनु छेत्री मुख्य अतिथि थिइन्।
यसैगरी, अन्य अतिथिहरूमा खरसाङ नगरपालिकाका उपाध्यक्ष सुवास प्रधान, खरसाङ गोर्खे हाटका कन्सेप्ट तयार गर्ने व्यक्ति सन्त किशोर गुरूङ, गोर्खे हाटका अध्यक्ष बिजयसिंह सिन्चुरी आदि उपस्थित थिए। समारोहमा खरसाङको गोर्खे हाटलाई आरम्भ गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सन्त किशोर गुरूङलाई आयोजक समितिको पक्षबाट सम्मान जनाइयो।
समारोहमा नेपाली सिने जगतमा दार्जिलिङ पहाड़ी क्षेत्रमा अह्म भूमिका निर्वाह गर्ने खरसाङ- निवासी विवेक राईलाई आयोजक कमिटीको पक्षबाट सम्मानित गर्दै स्मृति चिन्ह प्रदान गरियो। समारोहमा विविध रंगारंग सांस्कृतिक प्रस्तुति अन्तर्गत कलाकारहरूले नृत्य अनि गीत प्रस्तुत गरेका थिए।
खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा आयोजित समारोहमा गोर्खे हाटका सल्लाहकार प्रज्जवल प्रधानले गोर्खे हाटको उद्देश्य भविष्यमा गोर्खे हाटलाई रेगुलेटेड मार्केटमा परिवर्तन गर्ने र जातीय संस्कृतिलाई बचाउने रहेको बताए।
खरसाङ नगरपालिका उपाध्यक्ष सुवास प्रधानले भने, गोर्खे हाटका सञ्चालकहरू एउटा नयाँ भिजन लिएर खरसाङ नगरपालिकामा गत वर्ष आएका थिए। सर-सल्लाह गरेपछि उनीहरूलाई ठाउँको अभाव भएपछि खरसाङ शहरदेखि टाड़ा खरसाङ टुरिस्ट लजदेखि माथितिरको ठाउँ दिइयो, जहाँ वर्तमानमा गोर्खे हाट लगाउने काम भइरहेको छ। तर खरसाङ नगरपालिकाले खरसाङ बजारबीच हाटलाई लगाउनको लागि एक ठाउँ हेरेको छ। सञ्चालकहरूसित सर सल्लाह गरेर यसमाथि विचार गरिनेछ।
स्मरण गराइन्छ, प्रत्येक हप्ता आइतवारको दिन खरसाङमा गोर्खे हाट लगाइन्छ। यस हाटमा विशेष गोर्खा जातिसित सम्बन्धित विविध खाद्य सामग्री, सजावटका सामग्री, कपड़ा, स्थानीय साग-सब्जी आदि बिक्री हुन्छ। यस हाटमा किनमेल गर्नका लागि खरसाङ अनि वरपरका क्षेत्रहरूबाट ठूलो संख्यामा मानिसहरू आउने गर्दछन्। यस हाटको विशेषता के हो भने यहाँ पसल राख्ने सबै व्यापारीहरूलाई गोर्खा जातीय वेशभूषामा सुसज्जित देखिन्छ।
हिन्दुस्थान समाचार / हनोक