
- २०२० मा मुश्किलले बनेको सरकार, २०२५ मा जनताले लोकतन्त्रको आधारलाई थप मजबूती दिए
पटना, १२ नोभेम्बर (हि.स.)। बिहारको राजनीति फेरि एकपटक नयाँ चरणमा प्रवेश गरिसकेको छ। २०२० देखि २०२५ को पाँच वर्षको अवधिमा यो राज्यले राजनीतिका लगभग सबै रंगहरू देखिसकेको छ, गठबन्धनका उल्झनहरू, जनभावनाका उतारचढाव र नेताहरूबीच बद्लिँदो राजनीतिक समीकरणहरू। यदि २०२० को चुनाउ अल्पमतको सरकारको प्रतीक थियो भने २०२५ को चुनाउ स्पष्ट जनमतको संकेत बनेको छ।
२०२० को चुनाव: अपेक्षाभन्दा उल्टो नतिजा, सत्तामा एनडीए
साल २०२० को बिहार विधानसभा चुनाउले सबै एग्जिट पोलहरूलाई गलत साबित गर्यो। परिणाममा एनडीए गठबन्धनले १२५ सिट जित्यो र ३७.२६ प्रतिशत भोट शेयरका साथ सानो बहुमतमा सरकार बनायो। उता, महागठबन्धन ११० सिट र ३७.२३ प्रतिशत भोट शेयरका साथ निकै नजिक पुगेर पनि पछाडि रह्यो। यसलाई अबसम्मकै सबैभन्दा काटाकाटको स्पर्धा मानिएको छ।
एनडीएभित्र भाजपाले ७४ सिट जित्दै सबैभन्दा बलियो दलको रूपमा उदायो, जबकि जेडीयू ४३ सिटमा सिमिटियो। साझेदार दलहरू वीआईपी र हमले ४–४ सिट जित्दै सरकार गठनमा निर्णायक भूमिका खेले। त्यस्तै, राजद ७५ सिटका साथ सबैभन्दा ठूलो एकल पार्टी बन्यो। कांग्रेसले १९ र वाम दलहरूले १६ सिट जिते। एआईएमआईएमलाई ५ सिट तथा बसपा, लोजपा र स्वतन्त्र उम्मेदवारहरूले १–१ सिट प्राप्त गरे।
राजनीतिक विश्लेषक तथा वरिष्ठ पत्रकार लभ कुमार मिश्रका अनुसार, २०२० को जनादेश संख्या होइन, रणनीतिक सफलता थियो, जहाँ भाजपाको आक्रामक प्रचारशैली र नितीश कुमारको प्रशासनिक छविले सत्ता जोगाए।
२०२५ को चुनाव: जनताको मनोवृत्ति बद्लियो, बिहारले रच्यो इतिहास
पाँच वर्षपछि २०२५ को निर्वाचनमा चित्र पूर्ण रूपमा परिवर्तन भयो। दुई चरणमा सम्पन्न मतदानमा रेकर्ड भोटिङ् भयो। यो स्वतन्त्रतापछिको सबैभन्दा ठूलो जनसहभागिताको कीर्तिमान बन्यो। रेकर्ड तोड्ने यस मतदानले जनताले यसपटक सरकार मात्रै होइन, सोच बद्लिने मुडमा रहेको स्पष्ट सन्देश दियो। जहाँ २०२० मा मतदान प्रतिशत ५७.०९ थियो, त्यहाँ २०२५ मा यो बढेर ६७ प्रतिशतभन्दा माथि पुग्यो। महिलाहरू र युवाहरूको अभूतपूर्व सहभागिताले बिहारको राजनीतिक नक्सा नै फेरिदियो।
राजनीतिक विश्लेषक चन्द्रमा तिवारीका अनुसार, २०२० मा बिहारले स्थिरता रोजेको थियो, २०२५ मा उसले जवाफदेही शासन मागेको छ। अब जनता नेताहरूलाई होइन, कामलाई भोट दिन थालिसकेको छ।
पाँच वर्षको अन्तरालमा राजनीतिक कायाकल्प
२०२० देखि २०२५ का बीच बिहारको राजनीतिमा सबैभन्दा ठूलो परिवर्तन भनेको गठबन्धनको बाध्यताबाट निस्किँदै जनताको बलमा आधारित प्रणालीको विकास हो। २०२० मा सरकार मुश्किलले बनेको थियो, २०२५ मा जनताले लोकतन्त्रको जग अझ मजबुत बनाइदिएको छ। २०२० मा बिहारले ‘कसलाई जिताउने?’ भनेर सोधेको थियो, २०२५ मा उसले ‘को योग्य छ?’ भनेर निर्णय गरिसकेको छ। इतिहास साक्षी छ, २०२० ले सत्ता दिएको थियो, २०२५ ले रूपान्तरण ल्याएको छ। अब बिहार केवल राजनीति गर्ने भूमि होइन, लोकतन्त्र मापन गर्ने आधार बनेको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी