नौसेना प्रमुख अमेरिकाको यात्रामा, समुद्री साझेदारी सुदृढ बनाउनेबारे वार्ता हुने
Navy chief


नयाँ दिल्ली, १२ नोभेम्बर (हि.स.)। भारतीय नौसेना प्रमुख एडमिरल दिनेश के. त्रिपाठी नोभेम्बर १२ देखि १७ सम्म अमेरिकाको औपचारिक यात्रामा प्रस्थान गरेका छन्। यो यात्राको उद्देश्य भारत र अमेरिकी नौसेनाबीचको स्थायी समुद्री साझेदारीलाई अझ मजबुत बनाउनु हो, जुन दुवै देशबीचको रक्षा सहकार्यको प्रमुख आधार हो।

यस यात्रा अवधि नौसेना प्रमुखले अमेरिकी रक्षा विभागका वरिष्ठ अधिकारीहरूसँग छलफल गर्नेछन्। उनले अमेरिकी इन्डो–प्यासिफिक कमानका कमाण्डर एडमिरल स्यामुअल जे. पापारो, अमेरिकी प्यासिफिक फ्लीटका कमाण्डर एडमिरल स्टिफन टी. कोहलर लगायतका अन्य नौसेना अधिकारी र प्रतिष्ठित व्यक्तिहरूसँग भेटवार्ता गर्नेछन्। यी वार्ताहरूले दुवै पक्षबीचको चलिरहेको समुद्री सहकार्यको समीक्षा गर्ने, सञ्चालन–स्तरीय सम्बन्ध विस्तार गर्ने र सूचनाको आदान–प्रदान तथा समुद्री क्षेत्र सचेतना प्रणालीलाई सुदृढ बनाउने लक्ष्य राख्नेछन्।

यस यात्रामा अमेरिकी नौसेनाका प्रमुख संस्थान र परिचालन कमानहरूसँग बैठकहरू पनि हुनेछन्, जसमा इन्डो–प्यासिफिक क्षेत्रमा साझा प्राथमिकताहरू, मिलान जस्ता बहुपक्षीय ढाँचामा सहकार्य तथा 'कम्बाइन्ड म्यारिटाइम फोर्स पहलहरूमा केन्द्रित छलफल गरिने छ। भारतीय नौसेना प्रमुखको यो यात्रा एक स्वतन्त्र, खुला, समावेशी र नियम–आधारित इन्डो–प्यासिफिक क्षेत्रको दृष्टिकोणलाई मूर्तरूप दिन अमेरिकी नौसेनासँग सहकार्यलाई गहिरो बनाउने भारतीय प्रतिबद्धतालाई उजागर गर्छ।

एडमिरल त्रिपाठीको यस यात्रा ‘मालाबार’ नामक बहुपक्षीय नौसैनिक अभ्याससँग मेल खान्छ, जुन प्रमुख रूपमा इन्डो–प्यासिफिक क्षेत्रमा केन्द्रित समुद्री ड्रिल हो। यसको उद्देश्य भारत, अमेरिका, जापान र अस्ट्रेलियाबीच अन्तर-सञ्चालनीय र समन्वयलाई सुदृढ बनाउनु हो। यो अभ्यास नोभेम्बर १० देखि १८ सम्म पश्चिम प्यासिफिक प्रशिक्षण क्षेत्रमा सम्पन्न भएको थियो।

यद्यपि ‘क्वाड’ कुनै सैन्य गठबन्धन होइन, तर यो अभ्यास समुद्री सुरक्षालाई मजबूत पार्ने र क्षेत्रीय नौसंचालन स्वतन्त्रता कायम राख्ने एउटा मञ्चका रूपमा कार्य गर्दछ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande