
खरसाङ, 12 नोभेम्बर (हि.स.)। तीनधारेदेखि सिविटारसम्म पुग्ने साढ़े पाँच किलोमिटरको रोडको अवस्था अत्यन्तै जीर्णावस्थामा पुगेकाले स्थानीयहरुलाई धेरै असुविधा भइरहेको छ। तीनधारेको गोलाई पाखादेखि तीनधारे चियाबारी, जोगमाया चियाबारी र बाघमारा बस्ती हुँदै सिविटार चियाबारीको तितिरी गाउँसम्म रोडको अवस्था वर्तमानमा अत्यन्तै दयनिय बनेको छ।
रोडको जीर्णावस्थाका कारण स्थानीय मानिसहरु र चालकहरुले अत्यन्तै असुविधाको सामना गर्नु परिरहेको छ। साथै, रोडको दुरावस्थाले गर्दा स्थानीय विद्यार्थीहरु, बिरामीहरु र यहाँ आउने पर्यटकहरुले पनि धेरै समस्या झेल्नु परिरहेको छ। यस रोड अन्तर्गत तीनधारे चियाबारीको बन्दुके गाउँदेखि ओह्रालो, बाघमारा बस्ती पुग्ने बेलामा साथै बाघमारा बस्तीदेखि शिवखोला गाउँमाझको रोड अत्यन्तै जीर्णावस्थामा पुगेको छ।
यसरी नै शिवखोला गाउँदेखि सिविटारको तितिरी गाउँसम्म पुग्ने रोडमा खाल्डै खाल्डा र ढुङ्गाहरू निस्केर दुई चक्के वाहनहरु र साना गाडीहरूलाई यो रोडमा कुदाउन धेरै असुविधा भइरहेको जन गुनासो छ। महानदी ग्राम पञ्चायत अन्तर्गत सिविटारका पञ्चायत सदस्य राजीव तामाङले यो रोड अत्यन्तै जीर्णावस्थामा पुगेको र जनताको असुविधालाई ध्यानमा राखेर केही दिनमा मरमत्तिको कार्य शुरु गरिने जानकारी गराएका छन्।
उनले केही दिन अघि यहाँ जीटीए प्रमुख अनित थापाले भ्रमण गरेको र यस रोडको मरमत्तिको लागि कार्य चॉंड़ै शुरु हुने भएको जानकारी गराए। उनले यो रोडको मरमत्ति कार्य साढ़े तीन करोड़भन्दा बढ़ी लागत खर्चमा गरिने बताए। उनले स्थानीय जनसाधारणलाई भएको असुविधालाई ध्यानमा राखेर चॉंड़ै रोडको मरमत्तिको कार्य शुरु गरिने जानकारी गराएका छन्।
हिन्दुस्थान समाचार / हनोक