दुलारचन्द यादव हत्या प्रकरणमा पक्राउ परेका अनन्त सिंह जेल पठाइयो
दुलारचन्द यादव हत्या प्रकरणमा पक्राउ परेका अनन्त सिंह जेल पठाइयो


पटना, ०२ अक्टोबर (हि.स.)। बिहारको मोकामा क्षेत्रमा जन सुराज पार्टीका समर्थक दुलारचन्द यादवको हत्या प्रकरणमा पक्राउ परेका जनता दल युनाइटेडका नेता तथा मोकामाका पार्टी उम्मेदवार अनन्त सिंहलाई आइतबार १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ।

जन सुराजका उम्मेदवार पियूष प्रियदर्शीका समर्थक तथा राष्ट्रिय जनता दल (राजद) का नेता दुलारचन्द यादवको गत बिहिबार हत्या गरिएको थियो। यस हत्याकाण्डमा दुलारचन्द यादवका परिवारजनले अनन्त सिंह र उनका समर्थकमाथि हत्या गरेको आरोप लगाउँदै उजुरी दर्ता गरेका थिए। यही मुद्दामा शनिबार राति अनन्त सिंहलाई उनको गाउँबाट उनका दुई सहयोगीसहित पक्राउ गरिएको थियो।

पक्राउ पछि तीनै जना अभियुक्तहरूलाई सोधपुछका लागि पटना ल्याइयो र सोधपुछपछि आज अदालतमा पेश गरिएको थियो। अदालतले ती अभियुक्तहरूलाई १४ दिनको न्यायिक हिरासतमा पठाउने आदेश दिएको हो।

दुलारचन्द यादवका नातिले दर्ता गरेको प्राथमिकीमा सिधै अनन्त सिंह, उनका भतिजा तथा अन्य व्यक्तिहरूलाई आरोपित बनाइएको छ। पटना पुलिस प्रमुख (एसएसपी) कार्तिकेय शर्माले बताएका अनुसार, मोकामा क्षेत्रमा दुई प्रतिस्पर्धी उम्मेदवारका समूहबीच हिंसक झडप भएको थियो। ढुंगामुढा हुँदा धेरै जना घाइते भए र घटनास्थलबाट दुलारचन्द यादवको शव बरामद गरिएको थियो।

उल्लेखनीय छ, मोकामामा भएको हिंसापछि निर्वाचन आयोगले बाढका एसडीओ चन्दन कुमार र एसडीपीओ राकेश कुमारमाथि अनुशासनात्मक कारबाहीको आदेश दिएको छ। साथै बाढ–२ का एसडीपीओ अभिषेक सिंहलाई निलम्बन गरिएको छ। निर्वाचन आयोगले पटना (ग्रामीण) का पुलिस अधीक्षक विक्रम सिहागको समेत बदली गर्न निर्देशन दिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande