
पतञ्जलि विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा १४५४ विद्यार्थीलाई उपाधि प्रदान
हरिद्वार, २ नोभेम्बर (हि.स.)। भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले हरिद्वारस्थित पतञ्जलि विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा स्वर्णपदक प्राप्त विद्यार्थीहरूलाई सम्मानित गरिन्। कार्यक्रममा कुल १४५४ विद्यार्थीहरूलाई उपाधि प्रदान गरियो। तीमध्ये ६२ जनालाई विद्या वारिधि (पीएचडी) र ३ जनालाई विद्या वाचस्पति उपाधि दिइयो, जबकि ६१५ विद्यार्थीहरूले स्नातकोत्तर र ७७४ विद्यार्थीहरूले स्नातक उपाधि प्राप्त गरे।
आइतवार आयोजित समारोहमा राष्ट्रपति मुर्मुले उपाधि प्राप्त विद्यार्थीहरूलाई आशीर्वाद दिँदै खुशी व्यक्त गरिन्। उनले उपाधि पाउनेमध्ये ६४ प्रतिशत छोरीहरू छन् र पदक प्राप्त छात्राहरूको संख्या चार गुणा बढी छ। उनले भनिन् — “यो उपलब्धि विकसित भारतको त्यो स्वरूपको परिचायक हो, जहाँ महिलाहरू नेतृत्वको भूमिका निभाइरहेका छन्।”
राष्ट्रपतिले भनिन्, पतञ्जलि विश्वविद्यालयले महर्षि पतञ्जलिको तपस्या, साधना र ज्ञानपरम्परालाई आधुनिक समाजका लागि सुलभ बनाइरहेको छ। विश्वविद्यालयले योग, आयुर्वेद र प्राकृतिक चिकित्साका क्षेत्रमा शिक्षा र अनुसन्धानमार्फत स्वस्थ भारत निर्माणमा महत्वपूर्ण योगदान दिइरहेको छ।
उनका अनुसार, विश्वविद्यालयको भारत–केन्द्रित शिक्षा दृष्टिमा वैदिक ज्ञान, विश्व बन्धुत्व र आधुनिक वैज्ञानिक सोचको समन्वय पाइन्छ, जसले विश्वव्यापी चुनौतीहरूको समाधान दिन सक्छ। राष्ट्रपति मुर्मुले भनिन्, “शिक्षाको उद्देश्य केवल ज्ञान प्राप्ति होइन, सदाचार, तपस्या, सरलता र कर्तव्यनिष्ठा जस्ता जीवन–मूल्यहरू आत्मसात गर्नु पनि हो।” उनले विश्वास व्यक्त गर्दै भनिन्, पतञ्जलि विश्वविद्यालयका विद्यार्थीहरूले स्वाध्याय र तपस्याका आदर्शहरू पालना गर्दै स्वस्थ, संस्कारित र समरस समाज निर्माणमा योगदान दिनेछन्।
समारोहमा उत्तराखण्डका राज्यपाल ले.ज. गुरमीत सिंह (से.नि.) ले राष्ट्रपतिको देवभूमि आगमनलाई गर्वको क्षण बताए। उनले भने, “देवभूमि उत्तराखण्ड केवल एक राज्य होइन, यो योग, आयुर्वेद र अध्यात्मको प्राण–केन्द्र हो।” उनले भने, यहाँको ऋषि–परम्पराले सधैं यो सन्देश दिन्छ कि ज्ञानको सर्वोच्च उद्देश्य आत्म–विकास मात्र होइन, विश्व–कल्याण पनि हो।
राज्यपालले विद्यार्थीलाई शुभकामना दिँदै उनीहरूले आफ्नो शिक्षा र प्रतिभाको उपयोग राष्ट्र, प्रदेश र समाजको सेवाका लागि गर्ने वीश्वास व्यक्त गरे। उनले राष्ट्रपति मुर्मुलाई ‘फ्लोरा अफ राष्ट्रपति भवन’ र ‘मेडिसिनल प्लान्ट्स अफ राष्ट्रपति भवन’ नामक दुई पुस्तकहरू भेंट गरे।
मुख्यमन्त्री पुष्कर सिंह धामीले राष्ट्रपति मुर्मुको स्वागत गर्दै भने, उनले सधैं वंचित, शोषित र पिछडिएको वर्गका उत्थानका लागि कार्य गरेकी छिन्। राष्ट्रपतिमा मातृत्वको ममता, सेवा–संवेदना र राष्ट्रप्रति समर्पणको अद्भुत संगम रहेको छ।
मुख्यमन्त्रीले भने, स्वामी रामदेवको मार्गदर्शनमा पतञ्जलि विश्वविद्यालयले भारतीय संस्कार र आधुनिक शिक्षाको अद्भुत मेल स्थापित गरेको छ। यहाँ विद्यार्थीहरूले केवल विज्ञान मात्र होइन, भारतीय जीवन–मूल्यहरू पनि सिक्छन्। विश्वविद्यालयले योग, आयुर्वेद, विज्ञान र प्रविधिलाई एक सूत्रमा बाँध्ने शिक्षा प्रणाली विकास गरेको छ।
मुख्यमन्त्री धामीले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको मार्गदर्शनमा उत्तराखण्ड सरकारले दून विश्वविद्यालयमा ‘सेन्टर फर हिन्दू स्टडीज’ स्थापना गरेको छ र विज्ञान सिटी (देहरादून), एस्ट्रो पार्क (हल्द्वानी) तथा विज्ञान केन्द्र (अल्मोड़ा) जस्ता परियोजनाहरू मार्फत वैज्ञानिक अनुसन्धानलाई प्रवर्द्धन गरिरहेको छ।
यस अवसरमा पतञ्जलि विश्वविद्यालयका कुलपति आचार्य बालकृष्णले विश्वविद्यालयका उपलब्धिहरू र सामाजिक कार्यहरूबारे जानकारी दिए। समारोहमा स्वामी रामदेव, सांसद त्रिवेन्द्र सिंह रावत, डा. कल्पना सैनी लगायत अन्य गण्यमान्य व्यक्ति उपस्थित थिए।
हिन्दुस्थान समाचार / भवानी थामी