सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको सीएपीको आरोप
बिना शर्मा


गान्तोक, 6 दिसम्बर (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किम महिला परिषदकी अध्यक्ष बिना शर्माले एकातिर राज्यमा नाबालिकहरूमाथि दिन प्रतिदिन यौन उत्पिडन, यौन हिंसा र यौन दुर्ब्यवहारका घटनाहरू बढ्दै गइरहेको बताएकी छन् भने अर्कातिर राज्य सरकारको मौनता अनि सम्पूर्ण सम्बन्धित निकायहरूको निष्क्रियताले महिलाप्रति सरकारको कुनै सरोकार छैन भन्ने स्पष्ट भएको बताएकी छन्।

महिला परिषदकी अध्यक्ष शर्माले आज जारी प्रेस विज्ञप्तिमा वितेका पन्ध बीस दिनभित्र सिक्किम जस्तो सानो राज्यमा नाबालिक छोरीहरूको उत्पीडनमाथि एक-एक गर्दै जम्मा सातवटा मुद्दा दायर भएको बताएकी छन्। उनले प्रशासनको डर अपराधीहरूमा नरहेकै कारण हिजोआज महिलामाथि यौन हिंसामा वृद्धि भएर गएको दाबी गरेकी छन्।

उनले महिला सुरक्षाका अनेकौं भाषण गर्ने सरकारले राज्यभरि एउटा पिंक बस ल्याउँछु र सारा महिलाहरूलाई सुरक्षा दिन्छु भन्नुको सट्टा अब राज्यका छोरीहरूको सुरक्षाको जिम्मेवारी लिनुपर्छ भनेकी छन्। उनले प्रशासनको काम हिंसा भइसकेर खबर दिने मात्रै होइन, हिंसा हुन नदिनमा पनि गम्भीर पहल गर्नु हो भनेकी छन्। उनले यस विषयमा विधानसभामा चर्चा हुन जरुरी रहेको र कानुन बनाउन जरूरी रहेको जनाएकी छन्।

सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको आरोप लगाउॅंदै उनले महिला सुरक्षामाथि कुनै ठोस पहल आजसम्म नगरेको बताएकी छन्। उनले सत्ताधारी पार्टीका महिला नेतृहरूको ध्यान आकर्षित गर्दै यो विषयमा महिला नेतृहरू नै गम्भीर भइदिए कयौं छोरीहरूको इज्जत बाँच्ने थियो भनेकी छन्। उनले महिलामाथि हुने यौन उत्पीडनका घटनाहरूलाई लिएर सरकारले ठोस कानुन बनाउनुपर्छ भन्ने माग गरेकी छन्

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande