राष्ट्रपति, प्रधानमन्त्री गोवा दुर्घटनाप्रति दुःखी, केन्द्र सरकारले मृतकका परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने
राष्ट्रपति, प्रधानमन्त्री गोवा दुर्घटनाप्रति दुःखी, केन्द्र सरकारले मृतकका परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने


नयाँ दिल्ली/पणजी, ०७ दिसम्बर (हि.स.)। भारतकी राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीले गोवामा भएको दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन्। प्रधानमन्त्रीले मृतकहरूका परिवारका लागि तत्काल आर्थिक सहयोगको घोषणा गरेका छन्।

उनले एक्स सन्देशमार्फत जनाएका अनुसार, गोवाको अर्पोरा क्षेत्रमा भएको दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट दुई लाख रुपियाँ अनुग्रह राशि उपलब्ध गराइनेछ। घाइतेहरूलाई ५० हजार रुपियाँ दिइने छ।

प्रधानमन्त्रीले एक्समा लेखे, “यो घटना अत्यन्तै दुखद छ। आफ्ना प्रियजन गुमाएका सबै परिवारहरूप्रति मेरो संवेदना व्यक्त गर्दछु। घाइतेहरू चाँडै पूर्ण निको हुने प्रार्थना गर्दछु। गोवाका मुख्यमन्त्री डा. प्रमोद सावन्तसँग सम्पर्क गरेर अवस्थाबारे जानकारी लिएको छु। राज्य सरकारले प्रभावितहरूलाई सबै सम्भव सहयोग गरिरहेको छ।”

यसैबीच राष्ट्रपति द्रौपदी मुर्मुले पनि एक्स सन्देशमार्फत लेखिन्, “उत्तर गोवा जिल्लामा आगलागी भएको दुखद घटनाबाट धेरै दुःख लागेको छ, जसमा कैयौं मूल्यवान् ज्यानहरू गएका छन्। शोकाकुल परिवारप्रति मेरो गहिरो संवेदना। यो कठिन घडी सामना गर्ने शक्ति मिलोस्। म घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।”

यो दुर्घटना उत्तर गोवाको अर्पोरा क्षेत्रमा रातिको समयमा नाइट क्लबमा आगलागी हुँदा भएको हो, जसमा २३ जनाको ज्यान गएको छ। गोवा पुलिस महानिरीक्षक आलोक कुमारका अनुसार, सबै मृतकहरू क्लबका कर्मचारी हुन्। सिलिन्डर विस्फोटपछि आगलागी भएको प्रारम्भिक जानकारी उनले दिएका छन्। हालसम्म २३ शव बरामद गरिएको छ।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्त र स्थानीय सांसद माइकल लोबो घटनास्थलमा पुगेर अवस्थाको निरीक्षण गरेका थिए। लोबोले यस दुर्घटनामा कुनै पर्यटक हताहत भएको जानकारी अहिलेसम्म नभएको बताए। अधिकारीहरूले आगो नियन्त्रण र थप अनुसन्धानका लागि राहत तथा उद्धार कार्य तुरुन्तै शुरु गरिएको जनाएका छन्।

मुख्यमन्त्री प्रमोद सावन्तले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै भने,

“पर्यटन राज्यका रूपमा गोवाका लागि यो घटना अत्यन्तै दुर्भाग्यपूर्ण हो। नियमहरूको अवहेलना गर्दै अवैध रूपमा स्थापित संस्थान संचालन गर्नेहरूको कारण २३ जनाको ज्यान जाने गम्भीर घटना घटेको हो। सरकारले यस घटनाको विस्तृत छनबिन गर्नेछ।”

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande