
नयाँ दिल्ली, ०७ दिसम्बर (हि.स.)। देशको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोको संकट छ दिन बितिसक्दा पनि समाप्त भएको छैन। दिल्ली विमानस्थलमा इन्डिगोका उडान रद्दको लामो सूची रहेका कारण यात्रीहरू लामो लाइनमा उभिन बाध्य छन्। एयरलाइनले आफ्नो नेटवर्क पुनःसञ्चालन (रीबुट) गर्ने बताएको छ। आज १,५०० भन्दा बढी उडान सञ्चालन गर्ने लक्ष्य राखिएको छ।
इन्डिगोले जारी गरेको विज्ञप्ति अनुसार, कुल ९५ प्रतिशतभन्दा बढी कनेक्टिभिटी पुनःस्थापित गरिएको छ र १३८ मध्ये १३५ गन्तव्यमा सेवा शुरू भइसकेको छ। उड्डयन नियामक डीजीसीएको कडाईबीच एयरलाइनले क्षेत्रव्यापी संकटलाई सामान्य बनाउन संचालन स्थिर गर्ने प्रयास गरिरहेको छ। त्यस्तै आगामी तीन दिनमा यात्रुको भीड कम गर्न रेल्वेले ८९ विशेष ट्रेनहरू चलाउने घोषणा गरेको छ।
यसअघि शनिबार राति डीजीसीएले इन्डिगोका सीईओ पिटर एल्बर्स र जिम्मेवार प्रबन्धक इसिद्रो पोर्केरसलाई कारण बताउ नोटिस जारी गर्दै २४ घण्टाभित्र स्पष्टिकरण मागेको थियो। सरकारले कम्पनीलाई ४८ घण्टाभित्र यात्रुको ब्यागेज ट्रेस गरी बुझाउन निर्देशन दिएको छ। साथै रिफन्ड प्रक्रिया ७ दिसम्बर राति ८ बजीसम्म पूरा गर्न आदेश दिइएको छ।
यसबीच अन्य एयरलाइन्सहरूले भाडा बढाएको भन्दै केन्द्रिय सरकारले उडान भाडामा रोक लगाएको छ र अधिकतम सीमा तोकेको छ। जस अन्तर्गत 5०० किमी सम्म रु ७,५००, ५००–१,००० किमी रु १२,००० र अधिकतम रु १८,००० (अन्तरिम आदेश लागू नभएसम्म) तय गरेको छ। यद्यपि, यो सीमा बिजनेस क्लासमा लागू हुने छैन।
उल्लेखनीय छ, इन्डिगोले संकटको पाँचौँ दिन मात्र शनिबार ८०० भन्दा बढी उडान रद्द गरेको थियो। लगातार पाँच दिनदेखि इन्डिगोको उडान सेवा प्रभावित भएको छ, जसका कारण हजारौँ यात्रुहरू समस्यामा परेका छन्। इन्डिगोले देशको झण्डै दुई-तिहाइ घरेलु हवाई यातायात नियन्त्रण गर्छ र सामान्यतया दैनिक करिब २,३०० उडानहरू
सञ्चालन गर्छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी