गान्तोक, 18 सेप्टेम्बर (हि.स.)। राजधानीको लाल बजार निवासी 'श्याङ्की' को नामले लोकप्रिय संकल्प गुप्ता डान्सिङ रियालिटी शो 'सुपर डान्स- सिजन 5' को टप-9 मा पुग्न सफल बनेका छन्। श्याङ्की यहॉंसम्म आफ्नो प्रतिभाको बलमा टप-9 सम्म पुग्न सफल बनेका छन्। अब अर्को चरणमा प्रवेशको लागि उनलाई जन समर्थनको खॉंचो परेको छ। यस क्रममा श्याङ्कीको समर्थनमा राज्यका विभिन्न समुदायहरू अघि आएका छन्।
राजधानीमा आज आयोजित एक पत्रकार सम्मेलनमा राज्यका एक प्रतिष्ठित व्यवसायी अनिल गुप्ताले राष्ट्रिय स्तरको डान्सिङ रियालिटी शो 'सुपर डान्स- सिजन 5' मा सिक्किमको छोरो संकल्प गुप्ताले राज्यलाई प्रतिनिधित्व गरिरहेको बताए। श्याङ्कीको नृत्यकला उत्कृष्ट रहेको बताउॅंदै उनी टप-9 सम्म आफ्नो प्रतिभाको बलमा पुग्न सफल बनेको उनले बताए। यद्यपि, अब टप-6 मा प्रवेशको लागि उनीलाई सबैको समर्थनको खॉंचो परेको उनले बताए।
गुप्ता अनुसार, श्याङ्कीमा प्रतिभाको कुनै कमि नरहे तापनि इन्स्टाग्राममा उनका फलोवर्सको संख्या धेरै कम छ। फलोवर्सको संख्या कम रहेकाले उनी प्रतियोगिताबाट बहिरिन सक्छ। उनले राज्यवासीहरूलाई संकल्प गुप्ताको इन्स्टाग्राम shanky_entertainer मा गएर लाइक, सेयर अनि फलो गरिदिन अपील गरे। उनले शो विश्वभरि प्रसारण भइरहेकाले सिक्किमको नाम पनि विश्वमा फैलिरहेको बताए। यसैगरी, उनले मुख्यमन्त्रीद्वारा प्राप्त सहयोगको लागि पनि कृतज्ञता प्रकट गरे।
बिहारी समुदायका एक प्रतिनिधि छोटेलाल प्रसादले विगत 5 महिनाको लामो संघर्षमा श्याङ्कीले 60 जना प्रतिभागीहरूलाई उछिन्दै टप-9 सम्म स्थान बनाउन सफल बनेको बताए। उनले श्याङ्कीको इन्स्टाग्राम फलोवर्स कम रहेकाले उनलाई टप-6 र त्यसपछि फाइनलसम्म पुऱ्याउन सबैलाई उनको इन्स्टाग्रामलाई लाइक, सेयर र फलो गरिदिन अनुरोध गरे।
संस्कृति विभागका चेयरपर्सन टीटी भोटियाले श्याङ्की आफ्नो प्रतिभा देखाएर टप-9 सम्म पुगेको र अब उनलाई अगाडि बढाउन हामी सबैले समर्थन गर्नुपर्नेछ भने। मुख्यमन्त्रीले आफ्नो तर्फबाट सहयोग गरेको, तर मुख्यमन्त्रीको एक्लो प्रयासले मात्र उनी विजेता बन्न नसक्ने उनले बताए। चेयरमेन भोटियाले श्याङ्कीलाई सिक्किमको प्रतिभाको रूपमा र सिक्किमेको भावना राखेर समर्थन गर्नुपर्ने सबैको दायित्व रहेको बताए। उनले श्याङ्कीको जित भनेको सिक्किमेको जित हो भनी बताए।
यसैगरी, इकोस+1 का अध्यक्ष डा. एसके राईले पनि सबै समुदायका पदाधिकारीहरू र सदस्यहरूलाई संकल्प गुप्ताको जित सुनिश्चित गर्न उनको इन्स्टाग्रामलाई फलो गरिदिन आह्वान गरे। प्रेस सम्मेलनलाई मारवाडी समाजको तर्फबाट सजन अग्रवाल र मुस्लिम समुदायको तर्फबाट नुर्सिद आलमले पनि सम्बोधन गर्दै संकल्प गुप्तालाई समर्थन गरिदिन आह्वान गरेका थिए।
हिन्दुस्थान समाचार / बिशाल