
नयाँ दिल्ली, 01 जनवरी (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति सीपी राधाकृष्णन तथा लोकसभा अध्यक्ष ओम बिरलाले बिहिवार नयाँ वर्षको अवसरमा देशवासीलाई बधाई तथा शुभकामना दिएका छन्। उनीहरूले सबैका लागि उत्तम स्वास्थ्य, समृद्धि र सफलताको कामना गरेका छन्।
राष्ट्रपति मुर्मुले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै भनिन्, “नयाँ वर्षको खुशीको अवसरमा देश–विदेशमा बसोबास गर्ने सम्पूर्ण भारतीयहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। नयाँ वर्ष नयाँ ऊर्जा र सकारात्मक परिवर्तनको प्रतीक हो। यो आत्मचिन्तन र नयाँ संकल्प गर्ने अवसर पनि हो। यस अवसरमा देशको विकास, सामाजिक सद्भाव तथा वातावरण संरक्षणप्रतिको हाम्रो प्रतिबद्धतालाई अझ सुदृढ बनाऔँ।”
उपराष्ट्रपति राधाकृष्णनले भने, “आगामी वर्षले सबैका लागि शान्ति, राम्रो स्वास्थ्य, खुसी र समृद्धि ल्याओस् र सशक्त तथा विकसित भारत निर्माण गर्ने हाम्रो सामूहिक संकल्पलाई अझ बलियो बनाओस्।”
लोकसभा अध्यक्ष ओम बिरलाले नयाँ वर्षले जीवनमा नयाँ सपना, नयाँ ऊर्जा, नयाँ सम्भावना र अपार खुशी ल्याओस् भन्ने कामना व्यक्त गरेका छन्।
केन्द्रिय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले २०२६ ले सबैका लागि शान्ति, प्रगति र समृद्धि ल्याओस् भन्ने कामना गरेका छन्।
रक्षा मन्त्री राजनाथ सिंहले भने, “आउनुहोस्, यस वर्ष सबै मिलेर भारतको सुरक्षा, समृद्धि र विश्वस्तरमा स्थितिलाई अझ सुदृढ बनाउन काम गरौँ।”
केन्द्रिय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले नयाँ वर्ष अझ बढी खुशीमय रहोस्, आफन्तसँगै आफूले पनि ख्याल राखौँ भन्दै यस नयाँ वर्षमा देशको महान संस्कृति र अपार विविधताले भरिएको पर्यटन क्षेत्रले समृद्धिको नयाँ आयाम प्राप्त गरोस् भन्ने कामना गरेका छन्।
कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले नयाँ वर्षले सबैको जीवनमा खुशी र आनन्द ल्याओस्, प्रत्येक घर–आँगन धन–धान्य र सुख–समृद्धिले भरियोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।
कांग्रेसका राष्ट्रिय अध्यक्ष तथा राज्यसभामा विपक्षका नेता मल्लिकार्जुन खरगेले यो वर्ष सबैको जीवनमा खुशी, समृद्धि र प्रगति ल्याओस् भनी कामना गरेका छन्।
शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले नयाँ वर्षले जीवनमा नयाँ आशा जगाओस्, सकारात्मक ऊर्जाको विस्तार होस् र प्रत्येक प्रयास सफलताको दिशामा अघि बढोस् भन्ने कामना गरे।
सञ्चार तथा पूर्वोत्तर क्षेत्र विकास मन्त्री ज्योतिरादित्य सिन्धियाले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा यो नयाँ वर्ष नयाँ अध्याय, नयाँ आशा र अनगिन्ती अवसरहरू लिएर आएको बताउँदै खुला मन, ठूला सपना र सकारात्मक संकल्पका साथ सन् २०२६ को शुरुआत गरौँ भनेका छन्।
कांग्रेस महासचिव प्रियंका गान्धी वाड्राले नयाँ वर्ष सबैका लागि सुख, शान्ति, समृद्धि र खुशीले भरिपूर्ण रहोस् तथा सबै देशवासीबीच आपसी स्नेह, सहयोग र सद्भाव कायम रहोस् भन्ने शुभकामना व्यक्त गरिन्।
हिन्दुस्थान समाचार / भवानी थामी