नेपालमा बाढीपीडितका लागि पाँच लाख रुपियाँमा अस्थायी घर निर्माण गरिने, दुई कोठा, भन्सा र शौचालयको सुविधा
नेपाल में बाढ़ पीड़ितों के लिए बनाए जाने वाला प्री फैब घर का नमूना


काठमाडौँ, १६ अक्टोबर (हि.स.)। नेपाल सरकारले रसुवा जिल्लाका बाढीपीडितका लागि निर्माण गरिने अस्थायी आवासको नमुना तय गरेको छ। पूर्वाधार विकास मन्त्रालयले अस्थायी आवासका लागि ‘प्रीफेब मोड्युलर होम’ निर्माण गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ।

राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरणको कार्यकारी समितिको बैठकले २६ अगस्तमा आएको बाढीबाट प्रभावित मानिसका लागि अस्थायी आवासको नमुना तय गर्ने जिम्मेवारी पूर्वाधार विकास मन्त्रालयलाई दिएको थियो। सोहीअनुसार विभिन्न नमुनामाथि छलफल गरेपछि मन्त्रालयले प्रीफेब मोड्युलर होम निर्माण गर्ने निर्णय गरेको हो।

मन्त्री सुनील लम्सालका सल्लाहकार सुमन प्रधानले यसबारे जानकारी दिएका हुन्। उनका अनुसार, नेपाल बाढी, पैह्रो र भूकम्पलगायत प्राकृतिक आपदाको उच्च जोखिममा रहेको देश हो। त्यसैले मन्त्री लम्सालले पुनः प्रयोग गर्न सकिने खालका अस्थायी आवास निर्माणमा जोड दिएका थिए।

प्रधानले भविष्यमा आउन सक्ने प्राकृतिक आपदाको प्रबन्धनलाई ध्यानमा राखेर अस्थायी आवासका रूपमा प्रीफेब मोड्युलर होम बनाउने निर्णय गरिएको बताए।

प्रीफेब मोड्युलर होममा प्रयोग हुने विभिन्न भाग, जस्तै प्यानल, छानाको संरचना र भित्ताहरू कारखाना वा अन्य निर्धारित स्थानमा पहिले नै तयार गरिन्छ। त्यसपछि ती भागलाई सम्बन्धित स्थानमा पुर्‍याएर जगमाथि जोडेर घर निर्माण गरिन्छ। यस्ता घर सामान्य प्रबलित सिमेन्ट कङ्क्रिट (आरसीसी) का घरको तुलनामा निकै कम समयमा अर्थात् केही सातामै तयार गर्न सकिन्छ। यसको निर्माण लागत पनि आरसीसी घरभन्दा कम हुन्छ।

हलुका संरचना भएकाले यस्ता घरलाई भूकम्पका दृष्टिले तुलनात्मक रूपमा सुरक्षित मानिन्छ। आवश्यकताअनुसार यिनलाई एक ठाउँबाट अर्को ठाउँमा सार्न वा विस्तार गर्न पनि सकिन्छ।

सरकारले अहिले बाढीपीडितका लागि स्थायी घरको सट्टा अस्थायी आवासका रूपमा यो नमुना प्रयोग गर्न लागेको हो। स्थायी पुनर्वासको व्यवस्था नहुँदासम्म प्रभावित परिवारले यी घरमा बस्न सक्नेछन्। त्यसपछि आवश्यक परे संरचना खोलेर अन्य प्रभावित क्षेत्रमा पनि पुनः प्रयोग गर्न सकिनेछ। यी घर निर्माणमा आवश्यक सामग्री बजारमा सहजै उपलब्ध छन्।

मन्त्रालयले स्वीकृत गरेको नमुनाअनुसार, प्रत्येक घर २७० वर्गफिट क्षेत्रफलमा निर्माण गरिनेछ। घरमा दुईवटा कोठा, एउटा भान्सा र एउटा शौचालय हुनेछ। मन्त्रालयको प्रारम्भिक अनुमानअनुसार, एउटा घर निर्माण गर्न करिब पाँच लाख नेपाली रुपियाँ खर्च हुनेछ।

प्राधिकरणको प्रारम्भिक अध्ययनअनुसार, रसुवामा बाढीका कारण कुल ७ हजार ५७० निजी घरमा क्षति पुगेको छ। आपदाबाट ८ हजार ३१७ परिवारका ३२ हजार ९६३ जना प्रभावित भएका छन्।

हाल स्थानीय तहहरूले प्रभावित परिवारको पहिचान गरिरहेका छन्। पहिचान प्रक्रिया पूरा भएपछि स्थानीय तहले प्राधिकरणलाई बुझाउने प्रतिवेदनका आधारमा योग्य लाभग्राहीलाई अस्थायी आवास उपलब्ध गराइनेछ। हाल प्रभावितमध्ये करिब ६० देखि ७० प्रतिशतले सरकारले उपलब्ध गराएको आर्थिक सहायता लिएर भाडाका घरमा बसिरहेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande