आईआरजीसीको चेताउनी- ‘दुश्मन आफ्नै घरमा पनि सुरक्षित छैन’
आईआरजीसीको चेताउनी- ‘दुश्मन आफ्नै घरमा पनि सुरक्षित छैन’


- हमेदानमा खामेनेईको समर्थनमा प्रदर्शन

तेहरान/हमेदान, ०३ मार्च (हि.स.)। अमेरिका र इजरायलसँग जारी संघर्षबीच इरानले कडा सन्देश दिँदै आफ्ना दुश्मनहरू अब संसारको कुनै पनि कुनामा सुरक्षित नरहने चेताउनी दिएको छ। इरानको अर्धसैनिक एकाइ इस्लामिक रिभोल्युशनरी गार्ड कोर (आईआरजीसी) ले एक वक्तव्य जारी गर्दै हालैका आक्रमणहरूका बावजुद देश कमजोर भएको छैन भनी स्पष्ट पारेको छ।

सरकारी प्रसारक इस्लामिक रिपब्लिक अफ इरान ब्रडकास्टिङ (आईआरआईबी) का अनुसार, आईआरजीसीले भनेको छ कि देशका सर्वोच्च नेता अली खामेनेई तथा अन्य शीर्ष अधिकारीहरूको मृत्युले इरानलाई “कमजोर होइन, झन् बलियो” बनाएको छ।

वक्तव्यमा भनिएको छ, “दुश्मनले बुझ्नुपर्छ कि उसका राम्रा दिन सकिएका छन्। अब उनीहरू संसारको कुनै पनि स्थानमा सुरक्षित रहने छैनन्, यहाँसम्म कि आफ्नै घरभित्र पनि होइनन्।” आईआरजीसीले स्पष्ट पारेको छ कि “दुश्मनलाई पराजित नगरेसम्म” इरानको लडाइँ जारी रहनेछ।

हमेदानमा समर्थक सडकमा

यसैबीच पश्चिम इरानको हमेदान शहरमा खामेनेईको मृत्युपछि उनका समर्थकहरू सडकमा उत्रिएका छन्। प्रदर्शनकारीहरूले शोक व्यक्त गर्दै सरकारको समर्थनमा नाराबाजी गरेका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार, ठूलो संख्यामा मानिसहरूले जुलुस र सभामार्फत आफ्ना भावना व्यक्त गरिरहेका छन्।

तीव्र रूपमा बदलिँदै गएको अवस्थाबीच इरानमा एकातिर शोक र आक्रोशको माहोल छ भने अर्कोतर्फ सैन्य तथा कूटनीतिक मोर्चामा तनाव निरन्तर बढ्दै गएको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande