एसआईआरलाई लिएर असन्तोष व्यक्त गर्दै अजय एडवर्ड्सले निर्वाचन आयोगलाई लेखे पत्र
ajoy edward


खरसाङ, 03 मार्च (हि.स.)। इण्डियन गोर्खा जनशक्ति फ्रण्टका केन्द्रिय संयोजक अजय एडवर्ड्सले एसआईआरको जारी रिपोर्टप्रति असन्तोष प्रकट गर्दै निर्वाचन आयोगलाई पत्र लेखेका छन्। उनले एसआईआरको ताजा रिपोर्टले देशरक्षक गोर्खाहरूमाथि अन्याय भएको बताएका छन्।

एडवर्ड्सले भने, 'गत 28 फरवरीका दिन निर्वाचन आयोगले एसआईआरको सूची जारी गरेको छ र मतदाता सूचीबाट धेरै मतदाताहरूको नाम हटाइएको छ। मतदाता सूचीबाट साधारणभन्दा साधारण मतदाताहरूको नाम हटाइएकाले ती मतदाताहरू निराश छन्। यहाँसम्म कि देशरक्षक गोर्खाहरूको नामसमेत हटाउने कार्य भएको छ। यस्ता कार्यहरूबाट पार्टी खुशी छैन। देशका लागि आफ्नो प्राणको आहुति दिने गोर्खाहरूको नाम एसआईआरको सूचीबाट हटाइनु सरासर अन्याय हो।'

उनले अघि भने, 'एउटा बुथ मात्र होइन, धेरैवटा बुथ तथा ब्लकहरूमा आश्चर्यचकित बनाउने एसआईआरको रिपोर्ट आएको छ, जसमा मतदाताहरूको नाम सूचीबाट हटाइएको छ। कतिपय ठाउँमा एउटै घरभित्र दाजुको नाम छ, तर भाइको छैन। त्यसरी नै छोराको नाम छ, तर बाबुको नाम छैन। यसले गोर्खाहरूप्रति भारत सरकारको हेर्ने दृष्टिकोण कस्तो छ भन्ने स्पष्ट पार्दछ।'

यी विषयहरूलाई ध्यानमा राख्दै एडवर्ड्सले निर्वाचन आयोगलाई पत्राचार गरेका छन्। उनले पत्रमा एसआईआरको रिपोर्टप्रति हामी खुशी छैनौं भनी उल्लेख गरेका छन्। उनले पश्चिम बंगालमा विधानसभा चुनाउ गराउने हतारमा रैथाने जनजाति गोर्खाहरूको नाम मतदाता सूचीबाट हटाउनु गलत हो र मतदाताहरूको नाम काटिनु हुँदैन भनेका छन्। उनले एसआईआरद्वारा जारी गरिएको सूची पुनःविचार गरियोस् भनी माग गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande