
कालेबुङ, 24 मई (हि.स.)। पत्रकार मनोज बोगटीले जर्नलिस्ट एसोसिएसन अफ कालेबुङको अध्यक्ष पदबाट राजीनामा दिएका छन्। हालै मात्र अध्यक्षमा चयन भएका बोगटीले आफू अब जाति, मुद्दा र माटोको पक्षमा सक्रिय राजनीतिमा पूर्णकालीन रूपमा लाग्ने निर्णय गरेपछि नैतिकताको आधारमा पद त्याग गरेको बताएका छन्।
उनले पत्रकारिताबाट पनि औपचारिक रूपमा सन्यास लिएको घोषणा गरेका छन्। उनले आफ्नो जीवनको लामो समय पत्रकारिता, साहित्य र जनआवाजको पक्षमा समर्पित गरेको उल्लेख गर्दै अब त्यही संघर्षलाई राजनीतिक मोर्चाबाट अघि बढाउने बताएका छन्।
बोगटीले आफ्नो वक्तव्यमा सत्ता र व्यवस्थाविरुद्ध आवाज उठाउँदा आफूले कुटपिट, धम्की र २१ वटा मुद्दासम्म खेप्नुपरेको उल्लेख गरेका छन्। तर, ती सबै दबाउका बावजुद आफू लोकतन्त्र, पत्रकारिता र जनअधिकारको पक्षमा डटेर उभिएको बताएका छन्।
उनले गोर्खा समुदायको पहिचान, भाषा, भूगोल र राजनीतिक अधिकारमाथि भइरहेको क्रमिक षड्यन्त्रलाई नजिकबाट अनुभव गरेपछि अब केवल पत्रकारिताले मात्र नपुग्ने निष्कर्षमा पुगेको उल्लेख गरेका छन्। उनका अनुसार, अब पारम्परिक, सम्झौतावादी र लम्पसारवादी राजनीति भत्काएर गरीबभन्दा गरीब र कमजोरभन्दा कमजोर जनताले पनि आफ्नो अधिकार बोल्न सक्ने राजनीतिक संस्कृति निर्माण गर्ने लक्ष्यका साथ आफू राजनीतिमा होमिएका हुन्।
प्रेस वक्तव्यमा उनले नयाँ पुस्ताको वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने संकेत पनि दिएका छन्। गोर्खाल्याण्ड आन्दोलनको नाममा विगतमा भएका सम्झौता, विश्वासघात र मुद्दाको कमजोर प्रस्तुतिले जनतामा अविश्वास पैदा गरेको स्वीकार गर्दै अब नयाँ वैचारिक र संघर्षशील राजनीतिक संस्कृतिको आवश्यकता रहेको बताएका छन्।
उनले पुराना राजनीतिक दलहरू क्रमशः मुद्दाबाट विचलित हुँदै गएको आरोप लगाउँदै अब भूमि, भाषा, जातीय पहिचान र क्षेत्रीय अधिकारको रक्षाका लागि नयाँ युवा बौद्धिक नेतृत्व अगाडि आउनुपर्ने समय आएको बताएका छन्। यसको साथै उनले आफ्नो भविष्यको राजनीतिक यात्रामा पनि आलोचना र प्रश्नलाई स्वागत गर्ने बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक