मेट गाला २०२६ मा भारतीय स्टारहरूको जलवा
भेट गाला २०२६


फेशनको संसारको सबैभन्दा ठूलो मञ्च मेट गाला २०२६ को भव्य शुरुवात न्यूयोर्कस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्टमा भएको छ, जहाँ भारतीय स्टारहरूले आफ्नो शानदार उपस्थिति जनाएका छन्। करण जोहर र ईशा अम्बानीले आफ्नो अद्वितीय लुकमार्फत सबैको ध्यान खिचेका छन्। यस वर्षको थिम ‘फेशन कला हो’ अन्तर्गत स्टारहरूले संस्कृति र परम्पराको सुन्दर संगम प्रस्तुत गरेका छन्।

‘मेट गाला’ मा डेब्यू गरेका करण जोहरले ‘फ्रेम्ड इन एटर्निटी’ नामको विशेष आउटफिट रोजेका थिए, जसलाई प्रसिद्ध डिजाइनर मनीष मल्होत्राले तयार गरेका थिए। पावर-शोल्डर्ड भिन्टेज ज्याकेट, लामो ट्रेल र मल्टी-जेमस्टोन नेकलेससहित उनको लुक प्रसिद्ध चित्रकार राजा रवि वर्माको कलाबाट प्रेरित थियो। रेड कार्पेटमा हात जोड्दै उनले भारतीय परम्परालाई सम्मानपूर्वक प्रस्तुत गरेका थिए, जुन दर्शकहरूले निकै मन पराएका थिए।

यसैगरी ईशा अम्बानी सुनौलो साडीमा अत्यन्तै आकर्षक देखिएकी थिइन्, जसलाई डिजाइनर गौरव गुप्ताले तयार गरेका थिए। उक्त साडीमा स्वदेशी कारीगरहरूले सुनका धागो प्रयोग गरी बारीक कढाई गरेका थिए र यसमा १,८०० क्यारेट हीरासहित विशेष केप पनि समावेश गरिएको थियो।

यसका साथै मनीष मल्होत्रा र अनन्या बिरलाले पनि आफ्नो अनौठो शैलीमार्फत रेड कार्पेटमा छाप छोडेका थिए, जसले यसपटक मेट गालामा भारतीय फेशनको प्रभाव स्पष्ट रूपमा देखिएको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande